पर्सा पोस्ट , जेष्ठ २२ गते , बिरगंज ।
वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा नवनियुक्त पदाधिकारीहरूको स्वागत तथा परिचयात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा क्याम्पस व्यवस्थापन, संस्थागत विकास, शैक्षिक सुधार तथा भावी योजनाबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. रामऔतार खेतान, उपाध्यक्ष हरि प्रसाद गौतम, सदस्य सचिव किशोरी राय, सल्लाहकार जय प्रकाश खेतान लगायत अन्य पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवातमा नवनियुक्त पदाधिकारीहरूलाई स्वागत गर्दै क्याम्पस प्रशासनले क्याम्पसको वर्तमान शैक्षिक अवस्था, सञ्चालन भइरहेका कार्यक्रम, विद्यार्थी संख्या, भौतिक पूर्वाधार तथा आगामी योजनाबारे जानकारी गराएको थियो। कार्यक्रममा सहभागीहरूले क्याम्पसको समग्र विकासका लागि साझा सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. रामऔतार खेतानले हरि खेतान बहुमुखी क्याम्पसलाई प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए। उनले गुणस्तरीय शिक्षा, दक्ष जनशक्ति उत्पादन तथा आधुनिक र विद्यार्थीमैत्री वातावरण निर्माणमा विशेष प्राथमिकता दिइने उल्लेख गरे। उनले शिक्षक, विद्यार्थी, अभिभावक तथा व्यवस्थापन पक्षबीचको समन्वयले मात्र संस्थालाई सफलताको उचाइमा पुर्याउन सकिने धारणा व्यक्त गरे।
उपाध्यक्ष हरि प्रसाद गौतमले क्याम्पसको शैक्षिक तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा कार्य गरिने प्रतिबद्धता व्यक्त गरे। उनले सूचना प्रविधिमैत्री शिक्षण प्रणाली, पुस्तकालय व्यवस्थापन तथा अनुसन्धानमूलक गतिविधिलाई थप प्रभावकारी बनाइने बताए।
सदस्य सचिव किशोरी रायले प्रशासनिक कार्यलाई थप पारदर्शी, व्यवस्थित तथा सेवामुखी बनाउने लक्ष्य रहेको उल्लेख गर्दै विद्यार्थीहरूको हितलाई केन्द्रमा राखेर कार्य गरिने बताए। उनले समयसापेक्ष शिक्षा प्रणालीमार्फत क्याम्पसको शैक्षिक स्तर अभिवृद्धिमा जोड दिइने धारणा राखे।
त्यसैगरी सल्लाहकार जय प्रकाश खेतानले क्याम्पसको दीर्घकालीन विकासका लागि सबै सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले अनुसन्धान, अतिरिक्त क्रियाकलाप, खेलकुद तथा नेतृत्व विकासका कार्यक्रमलाई समेत प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा सहभागी अन्य पदाधिकारीहरूले पनि क्याम्पसको हित, शैक्षिक गुणस्तर अभिवृद्धि तथा संस्थागत विकासलाई उच्च प्राथमिकतामा राख्दै आगामी दिनमा समर्पित भावनाका साथ कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा नवनियुक्त पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। साथै, क्याम्पसको उज्ज्वल भविष्य निर्माणका लागि सबै पक्ष एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता समेत जनाइएको थियो।