पर्सा पोस्ट, जेठ १३ गते, वीरगञ्ज ।
जनपक्षीय पत्रकार, कवि तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’ को २४औँ स्मृति दिवस मंगलबार वीरगञ्जमा दीप प्रज्वलन गरी श्रद्धापूर्वक मनाइएको छ। प्रेस सेन्टर नेपाल मधेश प्रदेश समिति र पर्सा जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा वीरगञ्जको घण्टाघर वीरगञ्ज मा विशेष कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा सहभागी पत्रकार, सञ्चारकर्मी तथा विभिन्न पत्रकार संगठनका प्रतिनिधिहरूले सहिद पत्रकार इच्छुकको तस्वीरमा माल्यार्पण गर्दै दीप प्रज्वलन गरेका थिए। कार्यक्रममा बोल्ने वक्ताहरूले जनपक्षीय पत्रकारिता, प्रगतिशील साहित्य र लोकतान्त्रिक अधिकारको पक्षमा इच्छुकले पुर्याएको योगदानको स्मरण गर्दै वर्तमान समयमा पत्रकारितामाथि बढ्दो दबाब र हस्तक्षेपप्रति चिन्ता व्यक्त गरेका थिए।

वक्ताहरूका अनुसार आजभन्दा २४ वर्षअघि २०५९ साल जेठ ६ गते गिरफ्तार गरिएका इच्छुकलाई हिरासतमा यातना दिई जेठ १३ गते तत्कालीन महेन्द्र पुलिस क्लबमा हत्या गरिएको थियो। उनी तत्कालीन नेकपा (माओवादी) निकट प्रकाशन जनादेश साप्ताहिक र जनदिशा दैनिकका सम्पादक थिए। भारतको देहरादुनमा २०१३ कात्तिक ३ गते जन्मिएका इच्छुकले आफ्नो जीवन जनताको पक्षमा समर्पित गरेका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ का केन्द्रीय लेखा संयोजक के.सी. लामिछाने ले इच्छुकले ४६ वर्षको उमेरमै देश र जनताको मुक्तिका लागि जीवन बलिदान दिएको उल्लेख गर्दै उनको योगदान आजको पुस्ताका लागि प्रेरणाको स्रोत बनेको बताए। उनले प्रगतिवादी साहित्य र जनपत्रकारितामार्फत समाज परिवर्तनका लागि इच्छुकले खेलेको भूमिका अतुलनीय रहेको धारणा राखे।
त्यसैगरी नेपाल पत्रकार महासंघ मधेश प्रदेश का अध्यक्ष श्याम बन्जारा ले सहिद कृष्ण सेनको स्मृति दिवसलाई आन्दोलनका रूपमा ग्रहण गरिएको बताए। उनले वर्तमान समयमा सरकारले सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने, आफूअनुकूल समाचार सम्प्रेषण नगर्दा मुद्दा तथा धरपकड गर्ने प्रवृत्ति बढिरहेको आरोप लगाए।

सञ्चारकर्मीहरूको अभिव्यक्ति स्वतन्त्रता र आम जनताको अधिकारमाथि हस्तक्षेप भइरहेको भन्दै त्यसविरुद्ध सबै पत्रकार एकजुट हुनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा महासंघ मधेश प्रदेशका सचिव दीपक गौतम, पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर लगायतले सहिद इच्छुकको योगदानबारे प्रकाश पारेका थिए।
शिवनाथ यादव को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रेस सेन्टर पर्सा शाखाका सचिव अजित भूजेल ले गरेका थिए। कार्यक्रममा विभिन्न पत्रकार संगठनका प्रतिनिधि, सञ्चारकर्मी तथा नागरिक समाजका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वक्ताहरूले सहिद इच्छुकको विचार, त्याग र संघर्षलाई केवल स्मृतिमा सीमित नराखी प्रेस स्वतन्त्रता, नागरिक अधिकार र जनपक्षीय पत्रकारिताको रक्षाका लागि निरन्तर संघर्ष गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
