पर्सा पोस्ट , जेष्ठ १५ गते , जनकपुरधाम ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको आफ्नै प्रादेशिक भवन निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ। गणतन्त्र दिवसको अवसर पारेर शुक्रबार जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महासंघको प्रस्तावित भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा मधेश प्रदेश सरकारका फकिरा महतोले भवनको शिलान्यास गर्दै पत्रकार महासंघको प्रादेशिक कार्यालयलाई आधुनिक, व्यवस्थित तथा सुविधा सम्पन्न संरचनाका रूपमा विकास गरिने बताएका छन्। उनले पत्रकारिता क्षेत्र लोकतन्त्रको महत्वपूर्ण आधार भएकाले सञ्चार क्षेत्रको संस्थागत विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

उनले महासंघका पदाधिकारी, अर्थ मन्त्रालय तथा गृह, सञ्चार तथा कानुन मन्त्रालयबीच आवश्यक समन्वय गरी आगामी बजेटमार्फत भवन निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गरिने जानकारी दिए। “पत्रकारहरूको साझा संस्थालाई बलियो बनाउन प्रदेश सरकार सकारात्मक छ,” उनले बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष श्याम बन्जाराले अग्रज पत्रकारहरूले वर्षौंदेखि देख्दै आएको सपना अब साकार हुने चरणमा पुगेको बताए। उनले नेपालमै पहिलोपटक नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको आफ्नै भवन निर्माण हुन लागेको उल्लेख गर्दै यसलाई ऐतिहासिक उपलब्धिको रूपमा व्याख्या गरे।
अध्यक्ष बन्जाराले निर्वाचनका बेला गरिएको प्रतिबद्धता अनुसार भवन निर्माण कार्य अघि बढाइएको स्पष्ट पारे। उनले पर्सामा महासंघको दुईतले भवन निर्माण गरिएको उदाहरण दिँदै मधेश प्रदेश समितिको आफ्नै भवन निर्माण पनि संस्थागत सुदृढीकरणतर्फ महत्वपूर्ण कदम भएको बताए।
उनले भने, “अग्रज पत्रकारहरूले देखेको सपना पूरा गर्ने काम आजबाट सुरु भएको छ। मधेश प्रदेश पत्रकार महासंघको आफ्नै भवन निर्माण हुनु सम्पूर्ण सञ्चारकर्मीका लागि गौरवको विषय हो। अब छिट्टै आधुनिक तथा सुविधासम्पन्न भवन निर्माण हुनेछ।”
महासंघका अनुसार प्रारम्भिक चरणमा दुई कोठे भवन निर्माण कार्य सुरु गरिएको छ भने आगामी चरणमा सभा हल, कार्यालय कक्ष, प्रशिक्षण केन्द्र तथा पत्रकारहरूको लागि आवश्यक अन्य पूर्वाधारसमेत थप गरिने योजना रहेको छ।
कार्यक्रममा केसी लामिछाने, राम भरत, राजेश कर्ण, जितेन्द्र सिंह खड्का, बन्दना झा, अजय साह लगायत महासंघका पदाधिकारी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण महासचिव शैलेन्द्र महतोले गरेका थिए।