पर्सा पोस्ट , जेष्ठ १३ गते , वीरगन्ज ।
नेपाल पत्रकार महासंघ अन्तर्गतको नेपाल पत्रकार महासंघ पर्सा शाखा मा सदस्यता शुद्धीकरण, आर्थिक पारदर्शिता तथा साधारणसभा सञ्चालनको विषयलाई लिएर विवाद चुलिएको छ । शाखाभित्र देखिएको बेथिति, अपारदर्शिता र संस्थालाई सीमित व्यक्तिको स्वार्थअनुसार सञ्चालन गर्न खोजिएको आरोप लगाउँदै ४० जना श्रमजीवी पत्रकार एकजुट भएका छन् ।

पत्रकारहरूले संयुक्त रूपमा ४ बुँदे माग अघि सार्दै महासंघ नेतृत्वलाई ३ दिने अल्टिमेटम दिएका हुन् । उनीहरूले महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा तथा केन्द्रीय लेखा समिति अध्यक्ष केसी लामिछाने लाई ज्ञापनपत्र बुझाएका छन् । उक्त ज्ञापनपत्रको बोधार्थ मधेश प्रदेश समिति र केन्द्रीय समितिमा समेत पठाइएको जनाइएको छ ।

ज्ञापनपत्रमा समाजका विकृति र विसंगतिविरुद्ध कलम चलाउने पत्रकारहरूको आफ्नै साझा संस्था विवाद, गुटबन्दी र स्वार्थ केन्द्रित गतिविधिको शिकार बन्नु दुःखद रहेको उल्लेख गरिएको छ । केही व्यक्तिहरूले संस्थालाई व्यक्तिगत प्रभाव र स्वार्थअनुसार परिचालन गर्न खोजेको आरोप लगाउँदै पत्रकारहरूले त्यसप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
@ यस्ता छन् पत्रकारहरूको ४ बुँदे माग:

१. आर्थिक पारदर्शिता कायम गरियोस्
महासंघ पर्सा शाखाले केन्द्रमा बुझाएको सदस्यता शुल्कको रसिदअनुसार सम्पूर्ण आय–व्यय तथा हिसाबकिताब सार्वजनिक गरी आर्थिक पारदर्शिता कायम गर्नुपर्ने माग गरिएको छ ।
२. बरबुझारथ गरी साधारणसभा सम्पन्न गरियोस्
अघिल्लो कार्यसमितिले नयाँ कार्यसमितिलाई निर्णय पुस्तिका (माइन्युट), आर्थिक विवरण तथा सम्पूर्ण प्रशासनिक कागजात तत्काल हस्तान्तरण गरी समयमै साधारणसभा सम्पन्न गर्नुपर्ने माग गरिएको छ ।
३. निष्पक्ष सदस्यता शुद्धीकरण गरियोस्
महासंघको विधान, विधि, पद्धति र मापदण्डअनुसार हाल कायम सम्पूर्ण सदस्यहरूको निष्पक्ष रूपमा शुद्धीकरण गर्नुपर्ने माग पत्रकारहरूले राखेका छन् । शुद्धीकरण प्रक्रियामा विभिन्न फौजदारी मुद्दा तथा व्यक्तिगत आचरणलाई समेत आधार मान्नुपर्ने उल्लेख गरिएको छ ।
४. संस्थालाई बदनाम गर्नेहरूमाथि कारबाही गरियोस्
सामाजिक सञ्जालमार्फत महासंघको गरिमा र प्रतिष्ठामा आँच पुग्ने गतिविधि गर्ने व्यक्तिमाथि छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ ।
@ “३ दिनभित्र माग पूरा नभए आन्दोलन”
पत्रकारहरूले नयाँ नेतृत्व चयन भइसकेपछि पनि अघिल्लो कार्यसमितिले प्रशासनिक तथा आर्थिक कागजात हस्तान्तरण नगर्नु र साधारणसभा रोक्ने प्रयास गर्नु अत्यन्त खेदजनक भएको बताएका छन् ।
महासंघका पदाधिकारी, सल्लाहकार तथा कार्यसमिति सदस्यहरूलाई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गर्दै उनीहरूले ३ दिनभित्र माग सम्बोधन गरी उच्च नैतिकता प्रदर्शन गर्न नेतृत्वसमक्ष चेतावनी दिएका छन् ।
तोकिएको समयभित्र माग पूरा नभए थप दबाबमूलक आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी समेत पत्रकारहरूले दिएका छन् ।