पर्सा पोस्ट, चैत ०८ गते, वीरगञ्ज ।
वीरगञ्जको ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र गहवा माई मन्दिर परिसरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको भव्य महाआरती यस वर्ष पनि विशेष तयारीका साथ सञ्चालन गरिने भएको छ। मर्यादा पुरुषोत्तम भगवान श्री रामचन्द्रको जन्मोत्सवका रूपमा मनाइने पावन पर्व ‘राम नवमी’को अवसर पारेर आयोजना गरिने उक्त धार्मिक अनुष्ठानलाई यसपटक अझ व्यवस्थित र भव्य बनाउने निर्णय गरिएको हो।
गहवा माई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम कुमार पोखरेलको अध्यक्षतामा शनिबार बसेको बैठकले आगामी चैत १३ गते शुक्रबार साँझ ६ बजेदेखि मन्दिर अगाडि खुला प्राङ्गणमा महाआरती सञ्चालन गर्ने निर्णय गरेको हो।
समितिले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि श्रद्धा, भक्ति र अनुशासनका साथ कार्यक्रम सम्पन्न गर्ने जनाएको छ।
कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कार्यसमिति सदस्य मुकेश कुमार साहको संयोजकत्वमा विशेष उप–समिति गठन गरिएको छ। उप–समितिले व्यवस्थापन, सजावट, सुरक्षा तथा श्रद्धालुहरूको सहज सहभागितालाई प्राथमिकतामा राख्दै तयारी अघि बढाएको जनाएको छ।
बैठकमा उपाध्यक्ष देवानन्द प्रसाद कलवार, सचिव लक्ष्मी नारायण गुप्ता (पप्पु गुप्ता), कोषाध्यक्ष रविशंकर अग्रवालसहित कार्यसमिति सदस्यहरू दिना प्रसाद गुप्ता, सिताराम प्रसाद उपाध्याय, मुकेश प्रसाद साह, अनुप कुमार अग्रवाल, मनोज प्रसाद रौनियार, श्याम प्रसाद गुप्ता र दिपेन्द्र प्रसाद गुप्तालगायतको सक्रिय सहभागिता रहेको थियो।
त्यसैगरी कार्यक्रममा आमन्त्रित व्यक्तित्वहरू डा. पुरुषोत्तम दुबे, बसन्त कुमार गुप्ता, विरेन्द्र प्रसाद गुप्ता, अजय कुमार कर्ण, पियुष कुमार अग्रवाल, चन्द्रगुप्त कुमार साह तेली, विजय कुमार सर्राफ, ललित कुमार अग्रवाल, कन्हैया सर्राफ, ओशन कुमार गुप्ता, पवन कुमार वर्णवाल, शिव कुमार गुप्ता, राहुल कुमार रौनियार, विभा साह, सीमा दुबे, पूजा वर्णवाल, रेणु गुप्ता र अनामिका गुप्तालगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
बैठकमा ‘राम नवमी’को धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्वका विषयमा समेत विस्तृत छलफल गरिएको थियो। साथै, गहवा माई मन्दिर क्षेत्रको दीर्घकालीन विकास, सरसफाइ, संरचना विस्तार तथा धार्मिक पर्यटन प्रवर्द्धनका विषयमा पनि सहभागीहरूले महत्वपूर्ण सुझाव दिएका थिए।
समितिका सचिव लक्ष्मी नारायण गुप्ताले राम नवमीको पावन अवसरमा आयोजना हुने महाआरतीमा सहभागी भई धार्मिक पुण्य आर्जन गर्न सम्पूर्ण वीरगञ्जवासी तथा श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा व्यक्त गर्नुभएको छ।
यस वर्षको महाआरतीमा हजारौँ श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ, जसले वीरगञ्जको धार्मिक पर्यटन तथा सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।