पर्सा पोस्ट, फागुन २५ गते, वीरगञ्ज ।
मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा हुन लागेको “मारवाडी प्रिमियर लिग–३” क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक (रिभिल) कार्यक्रम सम्पन्न भएको छ। ट्रफी सार्वजनिक कार्यक्रम वीरगञ्जको आदर्शनगरस्थित होटल तृषलामा आयोजना गरिएको थियो।
कार्यक्रम ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा मारवाडी युवा मञ्चका अध्यक्ष अनुज रुङ्टा विशिष्ट अतिथिका रूपमा सहभागी रहेका थिए भने विभिन्न सामाजिक व्यक्तित्व, खेलप्रेमी तथा आयोजक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार स्वर्गीय **सुशील कुमार खेतान (टिपु)**को स्मृतिमा आयोजना हुन लागेको उक्त क्रिकेट प्रतियोगिता आगामी फागुन २९ गते (१३ मार्च २०२६), शुक्रबारदेखि वीरगञ्जको आदर्शनगर रंगशालामा सुरु हुनेछ। प्रतियोगितामा वीरगञ्जका विभिन्न क्लब तथा समूहका १० वटा टिम सहभागी हुनेछन् भने प्रतियोगिताभर २३ वटा खेल खेलाइने कार्यक्रम तय गरिएको छ।
प्रतियोगितामा बीटीएस प्लास्टर्स, टाइगर्स, जगुआर, कञ्चनजंगा लगायतका टिमहरू सहभागी हुने आयोजकले जनाएको छ। उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई आकर्षक ट्रफी तथा पुरस्कार प्रदान गरिनेछ।
कार्यक्रम संयोजक केशव खेतानका अनुसार यस प्रतियोगिताले वीरगञ्जमा खेलकुद गतिविधिलाई थप सक्रिय बनाउने विश्वास गरिएको छ। उनले स्थानीय खेलाडीहरूको उत्साहजनक सहभागिता रहने तथा खेलप्रेमी दर्शकहरूको उल्लेख्य उपस्थितिको अपेक्षा गरिएको बताए।
यसैबीच प्रतियोगिताको ट्रफी वीरगञ्जका विभिन्न धार्मिक तथा महत्वपूर्ण स्थलहरूमा पनि सार्वजनिक गरिएको थियो। मितेरी पुल, शंकराचार्य गेट, चिनीमिलस्थित पशुपतिनाथ मन्दिर तथा माइस्थान मन्दिरमा टिमका कप्तान तथा खेलाडीहरूको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको आयोजकले जनाएको छ।
ट्रफी सार्वजनिक कार्यक्रममा भन्सार शस्त्र प्रहरी भन्सार गुल्मका प्रहरी निरीक्षक निरज थापाको समेत विशेष उपस्थिति रहेको थियो।
आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य खेलकुदमार्फत युवाहरूलाई एकताबद्ध गर्नुका साथै स्वर्गीय सुशील कुमार खेतानको स्मृतिलाई सम्मान गर्नु रहेको छ। साथै यस प्रतियोगिताले वीरगञ्जमा क्रिकेट खेलको विकास तथा स्वस्थ खेल संस्कृतिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।