पर्सा पोस्ट, फागुन १२ गते, वीरगञ्ज ।
अनिल रुङटा नेतृत्वमा नेपाली कांग्रेस क्षेत्र नं. १ को घरदैलो कार्यक्रम वीरगञ्ज महानगरपालिका–१२ मुर्लीमा उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ। टोल–टोलमा पुगेर रुङटाले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना विकास एजेण्डा प्रस्तुत गर्नुभएको हो।
घरदैलोका क्रममा रुङटाले विकास निर्माण, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवाको स्तरोन्नति आफ्नो प्राथमिकता रहेको स्पष्ट पार्नुभयो। “पर्सा क्षेत्र नं. १ लाई समृद्ध र व्यवस्थित क्षेत्रका रूपमा स्थापित गर्न पारदर्शी शासन प्रणाली र सुशासन अपरिहार्य छ,” उहाँले भन्नुभयो, “जनताको विश्वास र साथ पाएमा परिणाममुखी काम गरेर देखाउनेछु।”
कार्यक्रममा सहभागी पूर्व संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य ले रुङटा सक्षम, इमान्दार र स्पष्ट दृष्टिकोण भएका उम्मेदवार भएको उल्लेख गर्नुभयो। उहाँले क्षेत्रको दिगो विकास, सुशासन स्थापना र पारदर्शी कार्यशैलीका लागि रुङटाजस्ता प्रतिबद्ध नेतृत्व आवश्यक रहेको बताउँदै मतदातालाई विजयी गराउन आग्रह गर्नुभयो। अमात्यले शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधार विकासमा ठोस उपलब्धि दिलाउने विश्वाससमेत व्यक्त गर्नुभयो।
घरदैलो कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, महिला समूह, युवा तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। मतदाताहरूले खानेपानी अभाव, जीर्ण सडक, ढल निकासको समस्या, बेरोजगारी तथा भ्रष्टाचार नियन्त्रणजस्ता मुद्दा उठाएका थिए। रुङटाले ती समस्याको दीर्घकालीन समाधानका लागि चरणबद्ध योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।
ज्येष्ठ नागरिक, महिला र युवासँग आत्मीय संवाद गर्दै रुङटाले जनविश्वास अझ मजबुत बनाउने प्रयास गर्नुभएको छ। घरदैलो अभियानसँगै क्षेत्र नं. १ मा चुनावी माहोल क्रमशः तातिँदै गएको र प्रतिस्पर्धा रोचक बन्दै गएको स्थानीयले बताएका छन्।