पर्सा पोस्ट, फागुन ०६ गते, वीरगञ्ज । पर्सा जिल्लाको राजनीतिमा ठूलो तरंग पैदा गर्दै नेकपा (एमाले)का प्रभावशाली तथा चर्चित नेता बस्रुद्दीन अन्सारी नेपाली कांग्रेसमा औपचारिक रूपमा प्रवेश गरेका छन्। निर्वाचनको मुखमै भएको यो राजनीतिक घटनालाई पर्सा–१ को चुनावी समीकरण नै बदल्ने मोडका रूपमा हेरिएको छ।
जनकपुरमा आयोजित भव्य आमसभाका बीच अन्सारीलाई नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन थापाले खादा र माला लगाएर स्वागत गरे। कार्यक्रममा हजारौं कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेताहरूले यसलाई कांग्रेसको बढ्दो जनआधार र कार्यकर्ता उत्साहको संकेतका रूपमा व्याख्या गरेका छन्।
पर्सा जिल्लामा लामो समयदेखि एमालेको संगठन विस्तार, कार्यकर्ता व्यवस्थापन तथा चुनावी रणनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका अन्सारीको पार्टी परिवर्तनलाई एमालेका लागि ठूलो राजनीतिक झट्का तथा कांग्रेसका लागि रणनीतिक उपलब्धि मानिएको छ। स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार अन्सारीको व्यक्तिगत प्रभाव, सामाजिक पहुँच र संगठनात्मक अनुभवले पर्सा–१ मा प्रत्यक्ष असर पार्ने देखिएको छ।
जानकारहरूका अनुसार मधेस क्षेत्रमा व्यक्तिगत प्रभाव र स्थानीय नेतृत्वको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले अन्सारीको प्रवेशले कांग्रेसको मताधार उल्लेखनीय रूपमा विस्तार हुने अनुमान गरिएको छ। उनीसँगै ठूलो संख्यामा कार्यकर्ता र समर्थक कांग्रेसमा समाहित हुने क्रम सुरु भइसकेको बताइन्छ, जसले पर्सा–१ मा कांग्रेसको जित्ने सम्भावना प्रबल बनाएको विश्लेषण गरिएको छ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै अन्सारीले देश र जनताको हितलाई केन्द्रमा राखेर निर्णय लिएको स्पष्ट पारे। उनले समावेशी, लोकतान्त्रिक र विकासमुखी राजनीतिक यात्रामा कांग्रेससँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै पर्सा क्षेत्रको समृद्धि, स्थायित्व र दिगो विकासका लागि आफ्नो अनुभव र ऊर्जा समर्पित गर्ने बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पर्सामा कांग्रेसको लहर तीव्र गतिमा बढिरहेको दाबी गरे। उनले देश परिवर्तनका लागि वैकल्पिक सोच, पारदर्शिता र इमानदार नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै अन्सारीजस्ता अनुभवी नेताको आगमनले पार्टी थप सशक्त बनेको बताए।
राजनीतिक वृत्तमा अहिले अन्सारीको कदमलाई आगामी निर्वाचनमा निर्णायक ‘गेम चेन्जर’का रूपमा चर्चा गर्न थालिएको छ। पर्सा–१ मा प्रतिस्पर्धा कडा हुने अपेक्षा गरिए पनि नयाँ समीकरणले कांग्रेसलाई स्पष्ट मनोवैज्ञानिक तथा संगठनात्मक फाइदा पुगेको स्थानीय जानकारहरूको भनाइ छ।