पर्सा पोस्ट , फागुन ०४ गते, वीरगञ्ज ।
पर्सा क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल रुङ्टालाई जेन–जी (Gen-Z) पुस्ताका युवाहरूले उत्साहजनक समर्थन जनाएका छन्। क्षेत्रका विभिन्न वडाबाट उल्लेखनीय संख्यामा सहभागी युवाहरूले रुङ्टाको उम्मेदवारीलाई आफ्नो भविष्यसँग जोडिएको निर्णय भन्दै एकजुट रूपमा समर्थन घोषणा गरेका हुन्।
युवाहरूको भेलालाई सम्बोधन गर्दै उम्मेदवार रुङ्टाले जेन–जी पुस्ता राष्ट्रको वर्तमान र भविष्य दुवै भएको उल्लेख गर्दै युवाको ऊर्जा, सृजनशीलता तथा प्रविधिमैत्री सोचलाई विकासको मूलधारमा समेट्नुपर्ने बताए। उनले शिक्षा प्रणाली सुधार, सीपमूलक तालिम, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा डिजिटल अवसर विस्तारका लागि विशेष कार्ययोजना ल्याउने प्रतिबद्धता व्यक्त गरे।
“पर्सा क्षेत्र नं. १ लाई युवा–मैत्री, अवसरयुक्त र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने मेरो प्राथमिकता हुनेछ,” उनले भने।
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता शेष हजराले रुङ्टाको जितलाई जेन–जी युवाहरूको जितको रूपमा व्याख्या गरे। युवाको आवाज नीतिनिर्माण तहसम्म पुर्याउन सक्षम र उत्तरदायी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उनले परिवर्तनको नेतृत्व गर्न रुङ्टा उपयुक्त उम्मेदवार भएको दाबी गरे।
“राजनीतिक रूपमा सचेत र परिवर्तनमुखी जेन–जी पुस्ताले अब युवामैत्री नेतृत्व चयन गर्ने समय आएको छ,” उनले जोड दिए।
भेलामा सहभागी युवाहरूले पारदर्शी शासन, समान अवसर, आधुनिक शिक्षा र सम्मानजनक रोजगारीलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताएका छन्। जेन–जी युवाको तर्फबाट बोल्दै सहभागीहरूले सुरक्षित, सम्मानित र अवसरयुक्त भविष्य सुनिश्चित गर्न नीतिगत सुधार अपरिहार्य रहेको औंल्याउँदै रुङ्टाको नेतृत्वमा नयाँ सोचसहितको राजनीति स्थापित हुने विश्वास व्यक्त गरे।
युवा नेता शेष हजराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय दिवेदी, नेपाल महिला संघ पर्साकी किरण शर्मा, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, विजय सरार्फ, दिलिप राज कार्की लगायत नेता, कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका प्रतिनिधिहरूको पनि सक्रिय सहभागिता देखिएको थियो।
भेलामा सहभागी युवाहरूले “युवामैत्री नीति, पारदर्शी नेतृत्व र अवसरको विस्तार” का मुद्दालाई अगाडि बढाउँदै पर्सा–१ मा विकास र सहभागितामूलक राजनीतिक संस्कार स्थापना गर्ने विश्वास व्यक्त गरेका छन्।