पर्सा पोस्ट, माघ २२, बिरगंज।
बिरगंज लेडिज सर्कल–३ को आयोजनामा “आओ एक घर बसाए” नारासहित सामूहिक विवाह कार्यक्रम मंगलबार बिरगंजस्थित जैन धर्मशालामा सभ्य एवं भव्य रूपमा सम्पन्न भएको कार्यक्रममा आर्थिक रूपमा विपन्न ११ जोडी जोडीको हिन्दु परम्परा अनुसार सम्पूर्ण रीतिरिवाजसहित सामूहिक विवाह गराइएको हो। सामूहिक विवाह कार्यक्रमको नेपाल लेडिज सर्कलका केन्द्रीय अध्यक्ष शिवानी अग्रवाल तथा बिरगंज लेडिज सर्कल–३ की अध्यक्ष नन्दनी अग्रवालले संयुक्त रूपमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन समारोहमा बोल्दै आयोजक पक्षले आर्थिक अभावका कारण कुनै पनि छोराछोरीको विवाह रोकिन नहुने धारणा व्यक्त गर्दै समाजको सहयोग र सहकार्यबाट यस्तो पुण्य कार्य सम्पन्न गरिएको बताउनुभयो। सामूहिक विवाहमार्फत ११ नवदम्पती र तिनका परिवारको अनुहारमा खुसी ल्याउन पाएकोमा आफूहरू हर्षित भएको उल्लेख गर्दै यसलाई सामाजिक दायित्वको रूपमा लिएको अध्यक्ष नन्दनी अग्रवालले बताउनुभयो। उहाँले नवदम्पतीलाई सफल दाम्पत्य जीवनको शुभकामना दिँदै सहयोगी हातहरूप्रति आभार व्यक्त गर्नुभयो।
आज बिहान ११ दुल्हाहरूको साथमा बारातीहरू नाच्दै–गाउँदै बिरगंज नगर परिक्रमा गर्दै विवाहस्थल जैन धर्मशाला पुगेका थिए। विवाहस्थलमा बधुपक्षले द्वारपूजा गरी दुल्हाहरूको स्वागत गरेपछि वरमाला, कन्या निरीक्षण, अग्नि फेरा लगायत सम्पूर्ण वैवाहिक संस्कार सम्पन्न गरिएको थियो। कार्यक्रमको अन्त्यमा सबै नवदम्पतीलाई सामूहिक रूपमा विदाइ गरिएको थियो।
सामूहिक विवाह अवसरमा नवदम्पतीहरूलाई बिछिया, पायल, नथ, ढोलना, औँठी, घडी, सुटकेस, साडी, सर्ट–पाइन्ट, शाल, टोपी, बेड, गद्दा, बेडसिट, झुल, ट्रंक (पेटी), दरि, कम्बल सेट, ग्यास चुल्हो, राइस कुकर, हिटर, पंखा, केटली, भाडा सेट, बाल्टी सेट, गिलास सेट, पानी जग, ह्याण्ड पर्स, चामल १ बोरा, आटा र बेसन प्याकेट लगायत आवश्यक घरायसी सामग्री उपहारस्वरूप प्रदान गरिएको बिरगंज लेडिज सर्कल–३ की सदस्य निधि बन्का जटियाले जानकारी दिनुभयो।
कार्यक्रममा बिरगंजका समाजसेवी, सामाजिक अभियन्ता, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, नेपाल लेडिज सर्कल केन्द्रीय समिति तथा बिरगंज लेडिज सर्कल–३ का पदाधिकारी, सदस्यहरू र नवदम्पतीका परिवारजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले लेडिज सर्कल–३ ले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै समाजमा सकारात्मक सन्देश दिएको भन्दै प्रशंसा व्यक्त गरेका थिए। साथै यस्ता कार्यक्रमले समाज र देशमा आपसी एकता, भाइचारा र सद्भाव अझ बलियो हुने विश्वास व्यक्त गर्दै सर्कल परिवारलाई धन्यवाद ज्ञापन गर्नुका साथै नवदम्पतीहरूको सुखद दाम्पत्य जीवनको कामना गरेका थिए।