पर्सा पोस्ट , पौष १८ गते, बिरगंज ।
हिन्दू पत्रकार संघ नेपालको केन्द्रीय कार्यसमितिको महत्वपूर्ण बैठक शुक्रबार वीरगञ्जमा सम्पन्न भएको छ। वीरगञ्जको माइस्थानस्थित अतिथि सदनको सभाहलमा केन्द्रका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा सम्पन्न बैठकले संगठनको संरचनालाई प्रदेश तथा जिल्लास्तरसम्म विस्तार गर्ने रणनीतिक निर्णय गरेको हो।
बैठकका अवसरमा केन्द्रका नवनियुक्त कोषाध्यक्ष आनन्द पटेललाई विधिवत् रूपमा खाँदा ओढाई पदभार ग्रहण गराइएको थियो। संगठनको आर्थिक व्यवस्थापन तथा संस्थागत मजबुतीकरणमा कोषाध्यक्ष पटेलको अनुभवले महत्वपूर्ण योगदान दिने विश्वास बैठकले व्यक्त गरेको छ।
बैठकले हिन्दू पत्रकार संघ नेपालको मधेश प्रदेश संयोजक तोक्ने निर्णय गर्नुका साथै मधेश प्रदेशका आठवटै जिल्लामा तत्काल संगठन विस्तार गर्ने निर्णय गरेको छ। संगठनका आगामी कार्यक्रम तथा गतिविधिहरूलाई चरणबद्ध रूपमा अगाडि बढाइने केन्द्रका सचिव राजकुमार सर्राफले जानकारी दिनुभयो।
त्यसैगरी बैठकले पत्रकारहरूको हक–हितको रक्षा, पेशागत मर्यादा कायम राख्ने तथा धार्मिक–सांस्कृतिक मूल्य–मान्यताको संरक्षणमा केन्द्रित रहँदै क्रियाशील रहने प्रतिबद्धता पुनः दोहोर्याएको छ।
बैठकमा केन्द्रका उपाध्यक्ष विनोद पटेल, कोषाध्यक्ष आनन्द पटेल तथा सदस्यहरू सञ्जय कुशवाहा, राकेश कुमार साह, अर्जुन चौधरी, राजु बैठा, रवि बर्नवाल र सन्तोष कुशवाहाको उपस्थिति रहेको थियो। साथै केन्द्रका सल्लाहकारहरू एस.के. चौरसिया, रितेश झा र आरोहण साहलगायत व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।