बिरगंज, कार्तिक २८ — पर्सा पोस्ट । नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्समा आज मानव अधिकारसम्बन्धी एकदिवसीय व्यापक तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कलेजको सभाहलमा आयोजित सो कार्यक्रममा विद्यार्थी, प्रशिक्षार्थी तथा शिक्षकमिलाएर ८० भन्दा बढी सहभागीहरूको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन कलेजकी प्रिन्सिपल ममता यादवले गर्नुभयो। उहाँले स्वास्थ्य क्षेत्रका विद्यार्थीका लागि मानव अधिकारको समझ तथा संवेदनशीलता अत्यन्तै आवश्यक रहेको उल्लेख गर्दै स्वास्थ्य सेवा प्रदायकले मानव अधिकारको सम्मान गर्दै सेवा प्रदान गर्नु आजको समयको प्रमुख आवश्यकता भएको बताउनुभयो।
यस्ता तालिमले विद्यार्थीहरूमा व्यावसायिक उत्तरदायित्व र मानवीय संवेदनशीलता थप बलियो बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो।एम्नेस्टी इन्टरनेशनल नेपाल समूह १६ का अध्यक्ष रजनीश झा, समूहका सलाहकार राजेश जैन बोथरा तथा शम्भु घेर्मे विशेष अतिथि तथा प्रशिक्षकको रुपमा उपस्थित थिए।
मुख्य प्रशिक्षक रजनीश झाले मानव अधिकारका आधारभूत सिद्धान्त, अन्तर्राष्ट्रिय संरचना तथा नेपालमा लागू कानुनी प्रावधानबारे विस्तृत प्रस्तुति दिनुभयो। साथै, मानव अधिकार उल्लंघनका स्वरूप, पीडितका अधिकार, कानुनी उपाय तथा समुदायमा मानव अधिकारमैत्री व्यवहार कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने विषयमा व्यावहारिक अभिमुखीकरण प्रदान गरे।
सहभागीहरूले समूहगत छलफल, केस–स्टडी र प्रश्न–उत्तर सत्रमार्फत विषयवस्तुको गहिरो बुझाइ हासिल गरेको बताइएको छ। समूहका सलाहकार राजेश जैन बोथराले मानव अधिकारको सम्मान र सुरक्षा केवल कानुनी दायित्व मात्र नभई दैनिक जीवनशैलीको अभ्यास पनि हो भन्नेमा जोड दिए।
त्यस्तै, शम्भु घेर्मेले स्वास्थ्य क्षेत्रमा देखिने मानव अधिकारसम्बन्धी चुनौतिहरू र तिनका समाधानका उपायबारे प्रकाश पार्नुभयो।
कार्यक्रम समापन गर्दै कलेज प्रशासनले यस्ता ज्ञानमूलक तथा क्षमता अभिवृद्धि कार्यक्रमले विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्वमा सक्षम बनाउने विश्वास व्यक्त गरेको छ। सहभागीहरूले पनि तालिम अत्यन्तै उपयोगी, प्रेरणादायी तथा व्यावहारिक रहेको प्रतिक्रिया दिएका छन्।