पर्सा पोस्ट, भदौ ११ गते, वीरगंज। वीरगंजमा हाल देखिएको हैजा, आउँ र झाडापखालाजस्ता संक्रामक रोगहरूको जोखिमलाई नियन्त्रण गर्न वीरगंज महानगरपालिकाले जनचेतनामूलक घरदैलो अभियानलाई अझ व्यापक बनाएको छ।

बुधबार स्वास्थ्यकर्मीको टोली मेयर राजेशमान सिंहकै निवास पुगेको थियो। टोलीले मेयर सिंह र उनको परिवारलाई सुरक्षित खानेपानी, सरसफाइ र व्यक्तिगत स्वच्छतालाई प्राथमिकतामा राख्नुपर्ने सन्देश दिएको छ। स्वास्थ्यकर्मीहरूले विशेष रूपमा खानेपानी उमालेर वा पियुष (क्लोरिन) प्रयोग गरेर मात्र सेवन गर्ने, खाना ढाकेर राख्ने, खुला ठाउँमा दिसा–पिसाब नगर्ने, फोहर खुला स्थानमा नफ्याँक्ने र साबुनपानीले नियमित हात धुने अभ्यास गर्नुपर्नेमा जोड दिएका छन्।

यस अवसरमा मेयर सिंहले स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै भने,
“हामी सबैले मिलेर यो संकटलाई जित्नुपर्छ। महानगरले आवश्यक औषधि, पियुष, खानेपानी परीक्षण, सरसफाइ र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेको छ। तर नागरिकको सक्रियता बिना यो अभियान सफल हुन सक्दैन।”
महानगरले प्रभावित क्षेत्रमा निःशुल्क पियुष वितरण, ट्यांकी तथा ट्यांकरमार्फत आपूर्ति हुने पानीमा क्लोरीन मिसाएर वितरण गर्ने व्यवस्था, विद्यालय, मन्दिर, मस्जिद र भीडभाड हुने स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।

त्यसैगरी, लामखुट्टे नियन्त्रणका लागि स्प्रे र फगिङ, नाला सफाइ, खुला ढल व्यवस्थापन र सरसफाइ अभियानलाई एकैपटक ३२ वटै वडामा सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख राजु साहले जानकारी दिए। उनका अनुसार, हालसम्म धेरै परिवारमा टोली पुगिसकेको छ र अभियानलाई दैनिकरूपमा निरन्तरता दिइँदैछ। उनले भने,
“हैजा र झाडापखालाको रोकथामका लागि औषधि मात्रै पर्याप्त हुँदैन, जनचेतना नै सबैभन्दा प्रभावकारी उपाय हो।”
यसैबीच, निजी अस्पतालहरूले निःशुल्क बेड र जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् भने संघीय स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन (WHO) र युनिसेफले पनि अभियानमा प्राविधिक तथा सामग्रीगत सहयोग पुर्याइरहेका छन्।