पर्सा पोस्ट, भदौ ११ गते, वीरगञ्ज। वीरगञ्जको ऐतिहासिक पहिचान र गौरवको प्रतीक घण्टाघर करिब आठ महिनापछि बिस्तारै पुरानै स्वरूपमा देखिन थालेको छ। विगत वर्ष भएको क्षति तथा संरचनागत समस्या कारण छतिग्रस्त बनेपछि यसको संरक्षण तथा मर्मत–सम्भार कार्य थालिएको थियो।
स्थानीय प्रशासन, नगरपालिका सहित सम्बन्धित निकायको समन्वयमा करिब एक महिना अघिदेखि तीव्र गतिमा भइरहेको मर्मत कार्य अन्तर्गत अहिले घण्टाघरलाई ढाकिएको हरियो पर्दा (घुम्टो) क्रमशः हटाइँदैछ। निर्माण कम्पनीका प्राविधिकका अनुसार आउँदो दशैंअघि सम्पूर्ण घुम्टो हटाइने र घण्टाघर पुरानै सौन्दर्यका साथ देखिनेछ।
करिब ८० वर्ष पुरानो यो ऐतिहासिक धरोहर वीरगञ्जको मुटु मानिन्छ। यो केवल समय बताउने संरचना मात्र नभई वीरगञ्जवासीहरूको गौरव, इतिहास र संस्कृतिसँग जोडिएको धरोहर हो। शहर प्रवेश गर्ने पाहुनादेखि यहाँका नागरिकसम्म सबैका लागि यसको विशेष महत्व रहेको छ।
मर्मत कार्यमा मुख्यतया क्षतिग्रस्त भित्ता, पर्खाल र सजावटी भागलाई मजबुत बनाउने, ऐतिहासिक स्वरूप जोगाउँदै आधुनिक प्रविधिबाट टिकाउ बनाउने, वरिपरि सौन्दर्यीकरण र प्रकाश व्यवस्थामा सुधार गर्ने काम भइरहेको छ।
लामो समयदेखि प्रतीक्षा गरिरहेका नगरवासीहरू अहिले घण्टाघरको मूल आकृति देखिन थालेपछि उत्साहित भएका छन्। स्थानीय व्यापारी र नागरिकहरूले दशैंतिहारको अवसरमा पुरानै स्वरूपमा देखिने घण्टाघरले शहरको रौनक पुनः फर्किने अपेक्षा व्यक्त गरेका छन्।
संरक्षण समितिका अनुसार मर्मत कार्य पूरा भएपछि घण्टाघर अझ आकर्षक र मजबुत बन्नेछ। यसले केवल वीरगञ्जकै नभई सम्पूर्ण तराई–मधेसको सांस्कृतिक धरोहरलाई नयाँ ऊर्जा दिने विश्वास व्यक्त गरिएको छ।
👉 अब केही हप्तामै वीरगञ्जवासीले घण्टाघरलाई पहिलेजस्तै, अझ भव्य रूपमा अवलोकन गर्न सक्नेछन्।