अजित कुमार भुजेल , बिरगंज । नेकपा माओवादी निकट पत्रकारहरुको छाता संगठन प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस बिरगंजमा हुने भएको छ ।
सेन्टरको आईतबार राष्ट्रिय परिषदको बैठक पनि बिरगंजमा हुने भएको छ ।
बैठक तथा स्थापना दिवसको तयारी अन्तिम चरणमा पुगेको सेण्टरका केन्द्रीय उपाध्यक्ष तथा स्थापना दिवस समारोह आयोजक समितिका संयोजक गोविन्द देवकोटाले जानकारी दिए ।
राष्ट्रिय परिषद् बैठकमा सहभागी हुन देशभरबाट पाँचसयको हाराहारीमा प्रतिनिधिहरु सहभागी हुन बिरगंज आउने छन् ।
कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १५ गते आईतबार परेको स्थापना दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन् ।
कार्यक्रममा सञ्चारमन्त्री रेखा शर्मा र उर्जा मन्त्री शक्ति बस्नेतको समेत सहभागी हुने कार्यक्रम तय भएको प्रेस सेन्टरले जनाएको छ । प्रेस सेन्टर नेपाल केन्द्रीय समितिको आयोजनामा हुने कार्यक्रम बीरगञ्जको नगर सभा गृहमा हुनेछ ।
प्रधानमन्त्री प्रचण्डले बिरगंजमा बारा र पर्साका स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुसँग पनि संघीयता कार्यान्वयनको विषयमा छलफल गर्नु हुनेछ ।
नेकपा (माओवादी केन्द्र) संघीयताको जननी रहेको र यसको कार्यान्वयनमा पनि माओवादीको महत्वपूर्ण भूमिका हुने भएकोले स्थानीय तहमा संघीयताको कार्यान्वयनमा आउने समस्या, चुनौती र समाधानका लागि प्रधानमन्त्रीले छलफल गर्न लागेको बुझिएको छ।