पर्सा पोस्ट , जेष्ठ २२ गते , वीरगञ्ज ।
विश्व वातावरण दिवस २०८३ को अवसरमा वीरगञ्जस्थित South Zone Secondary School ले वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ विविध कार्यक्रम आयोजना गरी दिवस मनाएको छ।

दिवसको अवसरमा विद्यालयको प्रि–प्राइमरी तहका विद्यार्थीहरूले उत्साहपूर्वक ‘ग्रीन डे’ कार्यक्रम मनाएका हुन्। कार्यक्रममा विद्यार्थीहरू हरियो पोशाकमा सजिएर सहभागी भएका थिए भने वातावरण संरक्षण, हरियालीको महत्व तथा स्वच्छ वातावरणसम्बन्धी सन्देशमूलक गतिविधिमा सक्रिय सहभागिता जनाएका थिए। साना बालबालिकाहरूले वातावरण जोगाउने सन्देश बोकेका प्रस्तुति, गीत, नृत्य तथा रचनात्मक कार्यक्रममार्फत उपस्थित अभिभावक तथा शिक्षकहरूलाई सकारात्मक सन्देश दिएका थिए।

त्यसैगरी विश्व वातावरण दिवसकै अवसरमा विद्यालयको जुनियर रेडक्रस सर्कलको आयोजनामा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरिएको छ। शिक्षक नायक अर्जुन बन्ठा चौधरीको नेतृत्वमा विद्यालय परिसरभित्र विभिन्न प्रजातिका विरुवाहरू रोपिएको विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वृक्षारोपण कार्यक्रमले वातावरणीय सन्तुलन कायम राख्न, प्रदूषण न्यूनीकरण गर्न तथा हरित वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।

विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वातावरणप्रति जिम्मेवारीबोध, प्रकृतिप्रेम तथा संरक्षणको भावना विकास गर्न सहयोग पुग्ने जनाएको छ। साथै विश्व वातावरण दिवसको सन्देशलाई व्यवहारमा उतार्ने उद्देश्यसहित आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक तथा वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिइने विद्यालय प्रशासनले जनाएको छ।

विश्वव्यापी रूपमा प्रत्येक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसले वातावरण संरक्षणप्रति जनचेतना फैलाउने तथा पृथ्वीलाई हराभरा र स्वच्छ बनाउने सन्देश दिने गर्दछ। यस वर्ष पनि विभिन्न विद्यालय, संघसंस्था तथा स्थानीय तहहरूले वृक्षारोपण, सरसफाइ तथा जनचेतनामूलक कार्यक्रममार्फत दिवस मनाइरहेका छन्।