पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज ।
वीरगञ्जमा ट्राफिक प्रहरीले अवैध सवारी साधनविरुद्ध कडाइ गर्दै सरप्राइज चेकिङ अभियान सञ्चालन गरेको छ। उक्त अभियानका क्रममा भारतबाट अवैध रूपमा ल्याइएका नम्बर प्लेटबिहीन १३ वटा इलेक्ट्रिक (ईभी) स्कुटर नियन्त्रणमा लिइएको छ।
ट्राफिक प्रहरी कार्यालय वीरगञ्जका वरिष्ठ सई अर्जुन सोडारीका अनुसार नियमित चेकजाँचका क्रममा बिना नम्बर प्लेट सञ्चालनमा रहेका स्कुटरहरू फेला परेपछि तत्काल नियन्त्रणमा लिइएको हो। उनका अनुसार पछिल्लो समय यस्ता अवैध सवारी साधनको प्रयोग बढ्दै गएकोले निगरानी थप कडा बनाइएको छ।
वरिष्ठ सई सोडारीकै नेतृत्वमा खटिएको टोलीले उक्त स्कुटरहरू नियन्त्रणमा लिएको हो। नियन्त्रणमा परेका सबै सवारी साधनलाई आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइने जनाइएको छ।
प्रहरीका अनुसार नम्बर प्लेटबिहीन सवारी साधनले दुर्घटना गराएर फरार हुने सम्भावना उच्च हुने भएकाले यस्ता साधनमाथि विशेष निगरानी आवश्यक हुन्छ। साथै, भन्सार प्रक्रिया पूरा नगरी भारतबाट अवैध रूपमा भित्रिएका सवारी साधन खुलेआम सडकमा चल्नु गम्भीर समस्या बन्दै गएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले आगामी दिनमा समेत यस्ता अवैध सवारी साधनविरुद्ध नियमित र कडा चेकजाँच अभियान सञ्चालन गरिने स्पष्ट पारेको छ।