पर्सा पोस्ट, चैत १७ गते, वीरगञ्ज ।
जिल्ला प्रशासन कार्यालय पर्सामा सेवाग्राहीहरूले लामो समयदेखि भोग्दै आएका झन्झट, ढिलासुस्ती र प्रशासनिक अड्चन हटाउने उद्देश्यले नवनिर्वाचित सांसदहरूले सक्रिय चासो देखाएका छन्। पर्सा–१ का सांसद हरि पन्त र पर्सा–२ का सांसद सुशील साह कानु संयुक्त रूपमा कार्यालय पुगेर अनुगमन गर्दै सेवा प्रवाहको अवस्थाबारे विस्तृत जानकारी लिएका हुन्।
अनुगमनका क्रममा सांसदद्वयले सेवा लिन आएका सर्वसाधारणसँग प्रत्यक्ष संवाद गरी उनीहरूको समस्या सुने। सेवाग्राहीहरूले एउटै फाइलमा ‘तोक’ लगाउन विभिन्न शाखा धाउनुपर्ने, सामान्य कामका लागि पनि घन्टौँ कुर्नुपर्ने, तथा प्रक्रिया अत्यन्त झन्झटिलो रहेको गुनासो गरेका थिए। कतिपयले बिचौलियाको चलखेलका कारण सेवा लिन थप कठिनाइ हुने गरेको समेत बताएका थिए।
यसपछि सांसदहरूले प्रमुख जिल्ला अधिकारी भोलादाहाल सँग भेट गरी सेवा प्रवाह सुधारका उपायबारे गम्भीर छलफल गरेका थिए। छलफलका क्रममा प्रजिअ दाहालले कार्यालयलाई प्रविधिमैत्री बनाउने, प्रक्रियालाई सरलीकृत गर्ने तथा छिटोछरितो सेवा सुनिश्चित गर्ने लक्ष्यसहित विभिन्न सुधारात्मक कदम अघि बढाइएको जानकारी दिए। उनले विशेष गरी ‘एकद्वार प्रणाली’ लागू गरी सेवाग्राहीलाई एउटै स्थानबाट सेवा उपलब्ध गराउने तयारी भइरहेको उल्लेख गरे।
सांसद पन्त र साहले सरकारी कार्यालयमा जनताले अनावश्यक सास्ती भोग्नुपर्नु लोकतान्त्रिक शासन व्यवस्थाकै उपहास भएको टिप्पणी गर्दै सेवा प्रणालीलाई सरल, पारदर्शी र जनमैत्री बनाउनुपर्नेमा जोड दिए। उनीहरूले प्रशासनले थालेका सुधारका प्रयासहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक सहयोग र निगरानी जारी राख्ने प्रतिबद्धता पनि जनाए।
स्थानीयवासीहरू भने सांसदहरूको यस पहललाई सकारात्मक रूपमा लिँदै अब सेवा प्रवाहमा वास्तविक सुधार आउने अपेक्षा गरेका छन्। यदि घोषणा गरिएका योजनाहरू व्यवहारमा कार्यान्वयन भएमा पर्सा प्रशासनमा देखिएको ढिलासुस्ती र अव्यवस्था अन्त्य भई सेवाग्राहीले सहज र सम्मानजनक सेवा पाउने विश्वास व्यक्त गरिएको छ।