पर्सा पोस्ट, चैत ०५ गते, वीरगञ्ज ।
राष्ट्रिय ज्योतिष दिवस २०८२ को सुअवसरमा वीरगञ्जस्थित श्री गहवा माई मन्दिरको प्राङ्गणमा भव्य सम्मान तथा विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। विश्व ज्योतिष महासंघका एसिया उपसभापति एवं बृहस्पति फाउन्डेसन नेपालका अध्यक्ष, सुप्रसिद्ध ज्योतिषाचार्य डा. पुरुषोत्तम दुबेले आयोजना गर्नुभएको उक्त कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको हो।
कार्यक्रममा स्नेही नेपाल सामाजिक संस्थाका अध्यक्ष भुपेन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले धर्म, संस्कृति र खगोल विज्ञानको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका अवसरमा सनातन संस्कृति, धर्म तथा ज्योतिष शास्त्रको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा नेपाल भोजपुरी समाजका अध्यक्ष धुर्व सिंह ठकुरी, संस्कृत पाठशाला वीरगञ्जका प्राचार्य पं. विजय नाथ तिवारी तथा हिन्दू पत्रकार संघ परिवारका अध्यक्ष राजन रौनियार रहेका छन्।
त्यसैगरी, महिला सशक्तिकरण तथा समाजसेवामा योगदान पुर्याएकी समाजसेवी राधा शर्मा पनि सम्मानित हुनुभयो। साथै, राजन तिवारी, पण्डित जटाशंकर तिवारी (गुरुकुल आश्रम), अपाङ्ग कल्याण संघका अध्यक्ष संजय सर्राफ र देश मधेश अनलाइनका सञ्चालक अभिलाष गुप्ता लगायतलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो।
समारोहमा सिमा दुबे, विभा साह र स्वस्तिका चौधरी लगायतका महिला व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।
कार्यक्रमका आयोजक डा. पुरुषोत्तम दुबेले सम्मानित व्यक्तित्वहरूको ज्ञान, साधना र समर्पणले ज्योतिष विद्याको विकासमा टेवा पुग्ने तथा समाजलाई सही मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
गहवा माई मन्दिरको पवित्र परिसरमा आयोजित उक्त कार्यक्रममा स्थानीय बुद्धिजीवी, सञ्चारकर्मी तथा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सम्मानित सबै व्यक्तित्वहरूको सुस्वास्थ्य, दीर्घायु तथा उज्ज्वल भविष्यको कामना गरेका थिए।