पर्सा पोस्ट, फागुन २६ गते, वीरगञ्ज।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा कार्यरत ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक गुणनिधि खकुरेलको बिदाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। वीरगञ्जमा आयोजित एक विशेष कार्यक्रमका बीच उनलाई सम्मानपूर्वक बिदाई गरिएको हो।
खकुरेल विगत ३० महिनादेखि पर्सा जिल्लाको ट्राफिक व्यवस्थापनमा सक्रिय रूपमा सेवा दिँदै आएका थिए। वीरगञ्जमा सबैभन्दा लामो समय कार्यरत ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षकका रूपमा परिचित खकुरेलले आफ्नो कार्यकालमा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदै जिल्लाका नागरिकहरूको शान्ति, सुरक्षा तथा सेवामा महत्वपूर्ण योगदान पुर्याएका छन्।
मिलनसार, कर्तव्यनिष्ठ र अनुशासित स्वभावका धनी खकुरेलले ट्राफिक सचेतना अभिवृद्धि, सवारी साधनको व्यवस्थित व्यवस्थापन तथा नागरिकसँग सहकार्य गर्दै पर्सा जिल्लाको ट्राफिक प्रणालीलाई थप व्यवस्थित बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। उनको कार्यशैलीका कारण ट्राफिक व्यवस्थापनमा सकारात्मक सुधार आएको सहकर्मीहरूले बताएका छन्।
बिदाई कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुबेदी लगायत प्रहरी अधिकृत तथा कर्मचारीहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा खकुरेललाई टिका, माला तथा खादा लगाई मायाको चिनो प्रदान गर्दै सम्मानपूर्वक बिदाई गरिएको थियो। सो अवसरमा उपस्थित प्रहरी अधिकृत तथा कर्मचारीहरूले उनको आगामी कार्यकाल सफल रहोस् भनी शुभकामना व्यक्त गरेका थिए।
यसैगरी पर्सेली जनता, विभिन्न संघसंस्था तथा पर्साका सञ्चारकर्मीहरूले पनि ट्राफिक व्यवस्थापनमा उनले पुर्याएको अतुलनीय योगदानको प्रशंसा गर्दै उच्च सम्मानसहित “फेरि भेटौँला” भन्दै भावपूर्ण बिदाई गरेका थिए।
कार्यक्रमको सहजीकरण जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा कार्यरत ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक अर्जुन सोडारीले गरेका थिए।