पर्सा पोस्ट , फागुन १६ गते , बिरगंज।
गगन कुमार थापाले आज बिरगंजको घण्टाघरस्थित बीपी उत्थान पार्कमा आयोजित “मधेस प्रतिज्ञा घोषणा कार्यक्रम” लाई सम्बोधन गर्दै नेपाली कांग्रेसको संकल्पलाई कुनै पनि हालतमा हार्न नदिने उद्घोष गरेका छन्। “हामी देशलाई हार्न दिँदैनौं, पाँच वर्ष नथाकी काम गर्छौं, एक दिन पनि थाक्यो भन्ने सुनिनु हुँदैन,” उनले दृढतापूर्वक भने।
नेपाली कांग्रेसका सभापति थापाले कुनै पनि जाति–समुदायको आत्मसम्मानमा ठेस पुग्ने काम कांग्रेसबाट नहुने प्रतिबद्धता जनाउँदै सबैलाई मिलाएर अघि बढ्ने बताए। २०८२ देखि २०८७ सालसम्मको एक–एक पल सदुपयोग गर्दै अधुरा काम पूरा गर्ने र विगतका कमजोरीको क्षतिपूर्ति गर्ने उनको भनाइ थियो। “मेहनत, उत्साह, संकल्प र सुझबुझले मात्रै परिवर्तन सम्भव छ,” उनले जोड दिए।
# विकासमा ढिलासुस्ती अन्त्य गर्ने प्रतिवद्धता:
विदेशमा एक वर्षमै फास्ट ट्र्याक बन्ने तर नेपालमा दशक लाग्ने अवस्थाको तुलना गर्दै उनले विकास प्रक्रियामा रहेको ढिलासुस्ती अन्त्य गर्ने बताए। किसानले एक बोरा मलका लागि दुःख पाएको उदाहरण प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार सबै क्षेत्रमा सुधारको आवश्यकता औंल्याए।
स्वास्थ्य मन्त्रालय सम्हालेको नौ महिनाको अनुभव स्मरण गर्दै उनले स्वास्थ्यकर्मी बीमा जस्ता कार्यक्रम सुरु गरिएको उल्लेख गरे। अबको नौ महिनाभित्र प्रत्येक नागरिकले एक रुपैयाँ पनि नतिरी निःशुल्क स्वास्थ्य सेवा पाउने व्यवस्था गर्ने दाबी समेत गरे।
# “मतदान छोरीको बिहे जस्तै सोचेर गर्नुहोस्”:
थापाले कांग्रेस सबैभन्दा पुरानो पार्टी भएको र लोकतन्त्र तथा संविधानको रक्षामा अग्रणी भूमिका खेलेको स्मरण गराउँदै मतदातालाई सचेत निर्णय गर्न आग्रह गरे। “जसरी छोरीको विवाह गर्दा केटा र उसको परिवार बुझेर निर्णय गर्छौं, त्यसैगरी आफ्नो अमूल्य मत दिँदा उम्मेदवार र पार्टीको योग्यता हेरेर भोट दिनुहोस्,” उनले भने। कार्यक्रममा “अबकि बार गगन सरकार” भन्ने नारासहित सांस्कृतिक प्रस्तुति समेत आकर्षण बनेको थियो।
# मधेसका १२ प्रतिज्ञा सार्वजनिक:
कार्यक्रममा थापाले मधेसका लागि १२ बुँदे प्रतिज्ञा सार्वजनिक गरे:
संविधान कार्यान्वयन र पहिचान न्याय
संघीयता कार्यान्वयन र डिजिटल सेवा
रोजगार र सीप विकास
किसान समुन्नति – “मेरो किसान, मेरो अन्नदाता”
मधेस अर्थतन्त्र – देशको इन्जिन
बाढी सुरक्षा र जलवायु न्याय
पानी सुरक्षा, महँगी नियन्त्रण र आवास
शिक्षा र स्वास्थ्य सुधार
युवा तथा बाल सुरक्षा महिला उद्यम र न्याय
पर्यटन तथा सांस्कृतिक समुन्नति
राष्ट्रिय प्राथमिक आयोजना
पर्सामा कांग्रेसको जित दाबी
केही दिनअघि गरिएको प्रारम्भिक मूल्यांकनअनुसार पर्साका चारै क्षेत्रमा कांग्रेस उम्मेदवार विजयी हुने दाबी उनले गरे। “म एक्लैले काम गर्न सक्दिनँ, अनुभवी र सक्षम टिम जितेर आयो भने देशको मुहार फेर्न सकिन्छ,” थापाले बताए। पर्साको ऐतिहासिक पहिचान स्मरण गर्दै उनले शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।
कार्यक्रम नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको थियो। स्वागत मन्तव्य उपसभापति रामनारायण कुर्मीले राखेका थिए भने संचालन जिल्ला सचिव एवं वीरगंज महानगरपालिकाका उपमेयर ईम्तियाजले गरेका थिए।
कार्यक्रममा विभिन्न दल परित्याग गरी सयौंको संख्यामा नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए। सभापति थापाले नवप्रवेशीलाई टीका–माला लगाएर स्वागत गरेका थिए।