पर्सा पोस्ट, फागुन ०९ गते, वीरगञ्ज।
वीरगञ्ज महानगरपालिका–७ मा विभिन्न राजनीतिक दल परित्याग गरी सयौँ नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्। पछिल्लो समय वडा नम्बर ७ मा एमालेप्रति जनआकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको दाबी गरिएको छ।
जनता समाजवादी पार्टी (जसपा) का दीपक महतो, शिवजी गुप्ता, महिला नेत्री सुनिता देवी तथा नेपाली कांग्रेस का सियाराम नेपालीलगायत नेताहरूको नेतृत्वमा ठूलो संख्यामा नेता–कार्यकर्ताहरू एमालेमा समाहित भएका हुन्। नवप्रवेशीहरूलाई पार्टीका स्थानीय तथा क्षेत्रीय नेताहरूले टीका–माला लगाई औपचारिक स्वागत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले देशमा राजनीतिक स्थायित्व, सुशासन र तीव्र विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरे। “राष्ट्रहित, पारदर्शिता र समृद्धिको स्पष्ट मार्गचित्र बोकेको पार्टी भएकै कारण एमालेप्रति जनताको विश्वास बढ्दो छ,” एक वक्ताले भने।
यसै अवसरमा वडा–स्तरीय घरदैलो तथा ‘जनता दर्शन’ कार्यक्रम पनि सम्पन्न गरिएको थियो। कार्यक्रममा सहभागी नेताहरूले घरघरमा पुगेर स्थानीयवासीहरूको समस्या, सुझाव र अपेक्षाबारे प्रत्यक्ष संवाद गरेका थिए। स्थानीयहरूले सडक पूर्वाधार सुधार, ढल तथा सरसफाइ व्यवस्थापन, युवाहरूका लागि रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवाको माग उठाएका थिए।
आयोजकका अनुसार कार्यक्रममा उल्लेखनीय जनसहभागिता रहेको थियो। सहभागीहरूले वीरगञ्ज–७ मा एमालेप्रति जनलहर बढ्दै गएको दाबी गर्दै आगामी दिनमा संगठन सुदृढीकरण र जनमुखी कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताएका छन्।