पर्सा पोस्ट, फागुन ०४ गते, वीरगञ्ज।
महाशिवरात्रिको पावन अवसरमा भारतको मध्यप्रदेशस्थित बागेश्वर धाममा भव्य सामूहिक कन्या विवाह कार्यक्रम सम्पन्न भएको छ। यस वर्ष करिब ३०० गरिब तथा असहाय कन्याहरूको विवाह गराइएको बागेश्वर धामका शिष्य कन्हैया पटेलले जानकारी दिएका छन्।
मन्दिरमा भक्तजनले चढाएको दानपेटीबाट संकलित रकम प्रयोग गरी हरेक वर्षझैँ यस वर्ष पनि गरिब छोरीहरूको विवाह सम्पन्न गरिएको हो। कार्यक्रममा नेपालबाट एक कन्या समेत छनोट भएको बताइएको छ।
बागेश्वर धाम सरकारको सामाजिक अभियानअन्तर्गत सञ्चालन हुँदै आएको यस कार्यक्रममा प्रत्येक मन्दिरले दानपेटीको रकम सामाजिक कार्यमा प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिइँदै आएको छ। दानपेटीबाट भण्डारा सञ्चालन, गुरुकुल व्यवस्थापन तथा क्यान्सर अस्पताल निर्माणजस्ता योजनाहरू पनि अघि बढाइएको जनाइएको छ।
यो सामूहिक विवाह कार्यक्रमको सातौँ संस्करण हो। करिब दुई महिनासम्म फारम संकलन गरी घर–घर पुगेर छनोट प्रक्रिया पूरा गरिएको थियो। ४० सदस्यीय टोलीले करिब ३० हजार किलोमिटर यात्रा गरेर ३०० कन्या छनोट गरेको आयोजकले जनाएको छ, जसमा १०८ आदिवासी कन्याको नाम समेत समावेश गरिएको थियो।
बागेश्वर धामका पीठाधीश्वर धीरेन्द्र कृष्ण शास्त्रीले कन्याहरूको धर्मपिताको भूमिका निर्वाह गर्दै विवाहमा आवश्यक सम्पूर्ण घरायसी सामग्री, सुन–चाँदीका गरगहना तथा प्रति जोडी ३० हजार भारतीय रुपैयाँ प्रदान गरेका छन्।
वैदिक विधिअनुसार आयोजित कार्यक्रममा विवाहअघि कलश यात्रा, मंगल प्रवेश, मेहन्दी तथा हल्दी समारोह सम्पन्न गरिएको थियो। त्यसपछि बरात स्वागत, जयमाला, हवन, सप्तपदी (फेरा) र कन्यादान विधि सम्पन्न गरिएको आयोजकले जनाएको छ।
विवाहपछि नवविवाहित जोडीलाई आशीर्वाद दिँदै विदाइ कार्यक्रम तथा सहभागी सबैका लागि विशाल भण्डारा आयोजना गरिएको थियो। कार्यक्रममा ९ देशका राजदूत, विभिन्न देशका साधु–सन्त, कथावाचक, राजनीतिक नेतृत्व, कलाकार तथा हजारौँ भक्तजनको उपस्थिति रहेको बताइएको छ।
बागेश्वर धाम सरकारले हिन्दुत्व र सनातन धर्मको प्रचार–प्रसारसँगै सामाजिक सेवा अभियानलाई निरन्तर अघि बढाउँदै आएको छ। साथै सन् २०२७ भित्र गरिब तथा असहायका लागि निःशुल्क उपचार उपलब्ध हुने क्यान्सर अस्पताल निर्माण गर्ने योजना समेत अघि सारिएको छ, जुन मन्दिर परिसरमै निर्माण हुने विश्वकै पहिलो अस्पताल हुने दाबी गरिएको छ।