पर्सा पोस्ट, फागुन ०४ गते, वीरगंज ।
पूर्व मन्त्री प्रदीप यादवको गाउँ मनियारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तलाई स्थानीयवासीले भव्य स्वागत गरेका छन्। आइतबार घरदैलो तथा मतदाता भेटघाटका लागि मनियारी पुगेका पन्तलाई गाउँलेहरूले फूलमाला र नाराबाजीसहित स्वागत गर्दै उत्साहजनक सहभागिता जनाएका थिए।
भेटघाटका क्रममा स्थानीयवासीहरूले गाउँका पूर्वाधार, रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका स्थानीय समस्यादेखि समग्र देशको राजनीतिक, आर्थिक र सामाजिक अवस्थासम्मका विषयमा उम्मेदवार पन्तसँग खुला संवाद गरेका थिए। प्रत्युत्तरमा पन्तले अब देशलाई नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै आफ्नो क्षेत्रबाट रास्वपालाई जिताए केन्द्र सरकारसँग प्रत्यक्ष संवाद र सहकार्यमार्फत विकासलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरे।
घरदैलो कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा महानगर सहसचिव मुन्ना साहसहित स्थानीय नेताहरू सन्तोष यादव, चन्देश्वर साह, सुदर्शन यादव, अजय राम, रञ्जित यादव, विवेक यादव, विजय साह, राजकिशोर यादव, ललन पटेललगायतको उपस्थिति रहेको थियो।
यसैबीच, पर्सामा ‘घण्टी’ चुनाव चिह्नप्रति आकर्षण दिनानुदिन बढ्दै गएको देखिएको छ। आइतबार बेलवा, ज्योति स्पिनिङ र श्रीपुर क्षेत्रमा मात्रै एक हजारभन्दा बढी व्यक्तिहरू विभिन्न दल परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।
बेलवामा रामप्रीत यादव, रमेश्वर यादव, मुन्निलाल साह, सन्देश कुश्वाहा, किशोर महतो, हबिस मियाँ, अलख राउत, शिवनारायण बैठा, योगेन्द्र मिश्र, हजरल मियाँको नेतृत्वमा पार्टी प्रवेश भएको थियो भने श्रीपुरमा जसपा युवा संघका सचिव त्रिनेश गिरि, गजेन्द्र महतो, अजय महतो, धिरज साह, सुनिल महतो र विवेक ठाकुरको नेतृत्वमा प्रवेश भएको जनाइएको छ। त्यस्तै ज्योति स्पिनिङ क्षेत्रमा अवध किशोर यादव र रामनरेश यादवको नेतृत्वमा स्थानीयहरू रास्वपामा आबद्ध भएका छन्।
स्थानीयवासीहरूका अनुसार परम्परागत दलप्रति निराशा बढ्दै जाँदा नयाँ अनुहार र वैकल्पिक राजनीतिक शक्तिप्रति भरोसा बढेको हो। उनीहरूले विकास र निकास दुवै अब ‘घण्टी’मार्फत सम्भव हुने विश्वास व्यक्त गर्दै स्वस्फूर्त रूपमा पार्टी प्रवेश गर्ने क्रम बढिरहेको बताएका छन्।
पर्सामा बढ्दो जनसमर्थनसँगै चुनावी माहोल समेत तातिँदै गएको छ र नयाँ नेतृत्वप्रति मतदाताको अपेक्षा स्पष्ट रूपमा देखिन थालेको स्थानीयहरूको भनाइ छ ।