पर्सा पोस्ट , माघ १६ गते , बिरगंज , पर्सा ।
शहिद दिवसको अवसरमा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटाले लोकतन्त्रका लागि जीवन आहुति दिने वीर शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
श्रद्धाञ्जली कार्यक्रमअन्तर्गत रुङटाले वीरगञ्जस्थित नारायणी अस्पताल परिसरमा अवस्थित प्रजातान्त्रिक आन्दोलनका अग्रज योद्धा तथा शहिद थिरबम मल्लको शालिकमा फुलमाला अर्पण गर्दै उहाँले देशमा लोकतन्त्र स्थापनाका लागि पुर्याएको अतुलनीय योगदानको स्मरण गरे। निरंकुशता विरुद्धको संघर्षमा शहिद मल्लले देखाएको साहस, त्याग र बलिदान आज पनि लोकतन्त्रप्रेमीहरूका लागि प्रेरणाको स्रोत रहेको उनले उल्लेख गरे।
त्यसैगरी, वीरगञ्जको घण्टाघर क्षेत्रमा मधेस आन्दोलनका क्रममा शहिद भएका शहिदहरूको शालिकमा समेत रुङटाले फुलमाला अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे। मधेसको पहिचान, अधिकार, समानता र समावेशी लोकतन्त्रका लागि आन्दोलनमा ज्यान अर्पण गर्ने शहिदहरूको बलिदानले मुलुकलाई समावेशी दिशातर्फ अघि बढ्न मार्गदर्शन गरेको उनको भनाइ थियो।
रुङटाले गण्डक चौकमा अवस्थित नेपाली कांग्रेसका कमाण्डर तेजबहादुर अमात्यको शालिकमा समेत फुलमाला अर्पण गर्दै लोकतन्त्र स्थापना र सुदृढीकरणका लागि अमात्यले खेलेको ऐतिहासिक भूमिकाको उच्च सम्मान व्यक्त गरे। शहिदहरूको त्याग र संघर्षकै कारण आज नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताहरू स्थापित भएको उनले बताए।
श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उम्मेदवार रुङटाले शहिदहरूको बलिदानकै कारण आज देशमा लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार स्थापित भएको उल्लेख गरे। शहिदहरूको सपना साकार पार्न नेपाली कांग्रेस सधैं जनताको पक्षमा उभिँदै आएको र आगामी दिनमा पनि न्याय, समानता र समृद्धिको यात्रालाई अझ मजबुत रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय द्विवेदी, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ता, पूर्व नगर सभापति भोला कलवार, किरण सरकार, मिन्टु सिंह, मनोज चौधरी, नेपाल विद्यार्थी संघ पर्साका सभापति रमेश यादव लगायत पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।