पर्सा पोस्ट , माघ १५ गते , बिरगंज ।
प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसको अवसरमा प्रेस सेन्टर नेपाल पर्साले बिरगंजमा प्रभातफेरी तथा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
बिहान बिरगंजको घण्टाघरबाट सुरु भएको प्रभातफेरी माईस्थान, आदर्शनगर हुँदै विभिन्न मुख्य सडक परिक्रमा गरी पुन घन्टाघरमा आई कोणसभामा परिणत भएको थियो।
प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछानेले
कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकारितामा पेशागत मर्यादा, विश्वसनीयता तथा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो। पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उहाँले तथ्यमा आधारित, सन्तुलित र विश्वसनीय पत्रकारिता गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो। विशेषगरी निर्वाचनजस्ता संवेदनशील विषयको रिपोर्टिङ गर्दा कुनै पूर्वाग्रह नराखी सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने उहाँको भनाइ थियो।
संयोजक लामिछानेले पत्रकारिताको मूल धर्म सत्यको खोज र जनताको विश्वास कायम गर्नु भएको उल्लेख गर्दै गलत सूचना तथा अफवाह फैलिन नदिन पत्रकारहरू अझ जिम्मेवार हुनुपर्ने बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले प्रेस स्वतन्त्रता र पेशागत सुरक्षाको सवाल अझै चुनौतीपूर्ण रहेको भन्दै पत्रकारहरू एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। त्यसैगरी नेपाल पत्रकार महासंघ पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश खनालले निर्वाचनका समयमा पत्रकार आचारसंहिता तथा निर्वाचन आचार संहिताको विशेष ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव दिपक गौतम, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य राघव साह, मधेश प्रदेश अध्यक्ष मनोज पटेल, जिल्ला अध्यक्ष शम्भु कुमार सुमन, प्रेस सेन्टरका केन्द्रीय सदस्य सन्तोष पौडेल , प्रेस युनियन पर्साका उपाध्यक्ष अलि असगर लगायत पर्साका पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
स्थापना दिवसको अवसरमा रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको थियो। रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्व र मानवीय सेवामा पत्रकारहरूको भूमिकालाई उजागर गरेको आयोजकले जनाएको छ। रक्त सन्चार केन्द्र बिरगंजमा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सचिव दिपेन्द्र चौहान र पर्साका अध्यक्ष ओमप्रकाश खनालले रक्तदातालाई रगतको पोका ( प्रिन्ट ) दिई कार्यक्रमको उद्घाटन गरेका थिए । रक्तदान कार्यक्रममा अजित कुमार भुजेल, रन्जित पाण्डे, संजोग गिरी, सन्तोष कुशवाह , दिपेन्द्र प्रसाद साह लगायतले रक्तदान गरेका थिए।
प्रेस सेन्टर नेपालले स्थापना दिवसलाई हरेक वर्ष पत्रकारिता सुदृढीकरण, पेशागत क्षमता अभिवृद्धि तथा सामाजिक सेवासँग जोड्दै मनाउँदै आएको जानकारी आयोजकले दिएका छन्। कार्यक्रमको सञ्चालन प्रेस सेन्टर नेपाल पर्साका सचिव अजित कुमार भूजेलले गर्नुभएको थियो।