पर्सा पोस्ट , पौष १८ गते , बिरगंज ।
राष्ट्र निर्माण दल नेपालको घोषणा सभा शुक्रबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख वक्ता तथा दलका अध्यक्ष समिम मियाँ अन्सारीले सुधारिएको संसदीय व्यवस्था, संघीयता, धर्मनिरपेक्षता तथा पूर्ण समानुपातिक समावेशी व्यवस्थालाई आत्मसात गर्दै त्यसको पक्षमा दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अध्यक्ष अन्सारीले देशमा दर्जनौं राजनीतिक दलहरू रहेको सन्दर्भमा राष्ट्र निर्माण दल नेपालको स्थापनाको आवश्यकता र औचित्य स्पष्ट पार्नुभयो। उहाँले हिमाल, पहाड र तराई–मधेशको समान प्रतिनिधित्व सुनिश्चित गर्दै सबै नेपाली समुदायलाई राष्ट्र निर्माण दल नेपालको अभियानमा सहभागी हुन आह्वान गर्नुभयो।
उहाँले समानुपातिक निर्वाचन प्रणालीतर्फ आफ्नो दल एक्लै प्रतिस्पर्धा गर्ने र प्रत्यक्षतर्फ भने मुद्दा मिल्ने दलहरूसँग गठबन्धन तथा चुनावी तालमेल गर्ने रणनीति रहेको जानकारी दिनुभयो। गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह लिएर राष्ट्र निर्माण दल नेपाल आगामी निर्वाचनमा होमिएको उहाँले बताउनुभयो।
घोषणा सभामा संविधानसभा सदस्य एवं पूर्वराज्यमन्त्री मोहम्मद जाकिर हुसैन, गुरुदेव राम, खगेन्द्र ढकाल, सुमन खड्गी, दीपेन्द्र चौधरी, अकबर खानलगायत देशका विभिन्न जिल्लाबाट आएका हजारौं नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको पार्टीका नेता अफरोज मंसुर (अर्पण) ले जानकारी दिनुभयो।