पर्सा पोस्ट, पुष १६ गते, बिरगंज ।
बिरगंज महानगरपालिकाको आमसञ्चार प्रवर्द्धन तथा नियमन समितिको संयोजक पदमा वरिष्ठ पत्रकार शत्रुघन नेपाल नियुक्त भएका छन्।
महानगर प्रमुख राजेशमान सिंहले नेपाललाई समितिको संयोजकको जिम्मेवारी प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका नेपालका अनुभव, निष्ठा र व्यावसायिकतालाई कदर गर्दै उक्त जिम्मेवारी दिइएको महानगरपालिकाले जनाएको छ।
समितिको मुख्य दायित्व महानगरपालिका र सञ्चारमाध्यमबीच समन्वय सुदृढ गर्नु, सूचना प्रवाहलाई प्रभावकारी बनाउनु तथा आमसञ्चार क्षेत्रको नियमनसम्बन्धी विषयमा आवश्यक सुझाव प्रदान गर्नु रहेको छ।
महानगरपालिकाका अनुसार सञ्चार क्षेत्रको राम्रो बुझाइ, सबै सरोकारवालासँग समन्वय गर्न सक्ने क्षमता र अनुभवयुक्त व्यक्तिको आवश्यकता रहेकाले नेपाललाई संयोजक नियुक्त गरिएको हो।
यसअघि उक्त समितिको संयोजकको जिम्मेवारी ध्रुव अधिकारीले सम्हाल्दै आएका थिए ।