पर्सा पोस्ट, पुष १२ गते, बिरगंज।
बिरगंज महानगरपालिका वडा नं. ३१ बेलवामा बिरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले आफ्नो कोषबाट भइरहेको विकास निर्माण कार्यको स्थलगत अनुगमन गर्नु भएको छ।
उपप्रमुख आलमले बेलवामा निर्माणाधीन सडक ढलान तथा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रामजानकी मन्दिरको पर्खाल निर्माण कार्यको अवलोकन गर्नु भएको हो। केही महिना अघि रामजानकी मन्दिर व्यवस्थापन समितिले उपप्रमुख आलमसमक्ष पर्खाल निर्माणको प्रस्ताव राखेपछि उहाँले पर्खाल लगाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। सो प्रतिबद्धता अनुसार हाल पर्खाल निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाहरू हर्षित भएका छन्।
यस अवसरमा बिरगंज महानगरपालिका वडा नं. ३१ बेलवास्थित रामजानकी मन्दिर व्यवस्थापन समितिको आयोजनामा एक कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम उपप्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख आलमले आफू सधैं जनताको साथमा रहेको बताउँदै समाजमा आपसी सद्भाव, भाइचारा र मेलमिलाप कायम राख्दै आएको उल्लेख गर्नु भयो। उहाँले सुख–दुःखमा एकअर्काको साथ दिँदै आएको समाजलाई अझ बलियो बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो। साथै, रामजानकी मन्दिरको संरक्षण तथा विकासका लागि आफू जहिले पनि सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको सभापतित्व पूर्व गाउँपालिका अध्यक्ष जोखन दासले गर्नु भएको थियो भने अतिथिहरूमा नेपाली कांग्रेस क्षेत्र नं. २ का सचिव हरि यादव, बिरगंज महानगरपालिका वडा नं. ३१ का वडा अध्यक्ष जितेन्द्र यादव, हैदर अंसारी, शेख अमरुल हसन लगायत स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।