पर्सा पोस्ट, असोज २० गते, वीरगंज। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अविरल वर्षाका कारण देशभर बाढीपहिरो, डुबान र नदी कटानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल राहत, पुनर्निर्माण र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बाराको विश्रामपुर गाउँपालिका–बरैनियामा आयोजित आजपाको विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष साहले बाढीपहिरोबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताको खोजी कार्य तीव्र बनाउन र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले सडकलगायतका भौतिक पूर्वाधारको पुनर्निर्माणमा ढिलाइ नगरी सरकार सक्रिय हुनुपर्ने बताए।

“देशभर बाढीपहिरो, डुबान र नदी कटानले नेपालीहरू पीडित भएका छन्। गौर अहिले पनि डुबानमा छ, जनता घरबारविहीन भएका छन्, कतिले ज्यान गुमाएका छन् भने कति बेपत्ता छन्,” अध्यक्ष साहले भने, “सरकारले ढिलाइ नगरी राहत, पुनर्निर्माण र क्षतिपूर्ति तत्काल दिनुपर्छ।”
साहले पहाडदेखि तराई–मधेससम्म बाढीपहिरोले जनजीवन प्रभावित पारेको उल्लेख गर्दै किसानहरूले बाली भित्र्याउने बेलामा ठूलो क्षति व्यहोर्नु परेकाले किसानलाई समेत राहत र क्षतिपूर्ति दिनुपर्ने माग गरे।