अजित कुमार भुजेल , बिरगंज । नवौं प्याब्सन राज होजियारी अन्तर विद्यालय जुनियर फुटबल प्रतियोगिताको उपाधि लिटिल फ्लावर माविले उचाल्न सफल भएको छ ।
सोमबार फाईनल खेलको लागि नवदीप एकेडेमी र लिटिल फ्लावर माविबीच भएको अन्तिम खेलमा लिटिल फ्लावर माबिले ४–० गोलको फराकिलो अन्तरले नवदिप एकेडेमीलाई पराजित गरेका थिए ।
विजेता टिमलाई समापन समारोहका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले शील्ड, मेडल र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, प्याब्सनका पूर्व केन्द्रीय सदस्य तथा बरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश खनाल, प्रेस सेन्टर नेपालका मधेस प्रदेशका अध्यक्ष नीरज पिठाकोटे मगर, सामाजिक अभियन्ता प्रकाश थारू , दिलिप राज कार्की ,कमल चौगाई, मार्टिन मोक्तान लगायतको उपस्थित रहेको थियो ।
प्रतियोगितामा नवदीप एकेडेमी दोस्रो, ठोरी एकेडेमी तेस्रो र ज्ञानज्योती माविले सान्त्वना हासिल गरेका छन् । कार्यक्रमको सहजीकरण प्याब्सनका सचिव अशोक संग्रौलाले गर्नु भएको थियो ।