अजित कुमार भुजेल , बिरगंज ।बिरगंजको आदर्शनगरस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा क्याम्पसका संस्थापक एंव दाताहरुको शालीक निर्माण गरी बिहीबार अनावरण गरिएको थियो ।
क्याम्पसको मूल भवन परिसरमा निर्माण गरिएको संस्थापक एंव दाताद्वय स्व. महावीर प्रसाद र स्व. रघुवीर रामको अर्ध कदको शालीक बिहीबार अनावरण गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. केशरजंग बरालले दुवै शालीकको अनावरण गरेका थिए । त्यस अवसरमा दाता परिवारका सदस्यहरुको पनि विशेष उपस्थिती रहेको थियो ।
काठमाडौं उपत्यकापछिको सबैभन्दा पूरानो र त्रिभुवन विश्वविद्यालय भन्दापनि जेठो ठाकुरराम बहुमुखी क्याम्पस विक्रम संवत २००९ सालमा स्थापना भएको थियो ।
बिरगंज निवासी समाजसेवी एंव शिक्षाप्रेमीद्वय स्व.महावीर प्रसाद र स्व. रघुवीर रामले आफ्ना स्वर्गीय बुबा स्व. ठाकुर रामको स्मृतिमा १७ बिघा जग्गामा भवन निर्माण गरि ठाकुरराम क्याम्पसको स्थापना गरेका थिए ।
स्थापनाका बखत भारत बिहारको पटना विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि सञ्चालनमा आएको ठाकुरराम बहुमुखी क्याम्पस विक्रम संवत २०१६ सालदेखि भने त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्दै सञ्चालनमा रहेको छ ।
ठाकुरराम क्याम्पसका संस्थापक एंव दाताद्वय स्व. महावीर प्रसाद र स्व. रघुवीर रामले आफ्ना पिता स्व. ठाकुर रामकै स्मृतिमा विक्रम संवत २००१ सालमा बाराको अमलेखगन्ज ठाकुरराम प्राथमिक विद्यालय , विक्रम संवत २००७ सालमा बिरगंजको श्रीपुरमा नेपाल राष्ट्रिय विद्यापिठ विद्यालय र बिरगंजको बिर्तामा त्रिजुद्ध माविको स्थापनाको लागि जग्गादान गर्नुको साथै आर्थिक सहयोग समेत गरेका थिए ।
क्याम्पस प्रमुख रणजीत यादवको अध्यक्षतामा बिहीबार भएको शालीक अनावरण कार्यक्रममै क्याम्पसका पूर्व क्याम्पस प्रमुख केदार साह, ललन द्धिवेदी, प्रमोद कुशवाहा लगायतलाई दोशल्ला ओढाएर सम्मानित गरिएको थियो । कार्यक्रममा बिरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय कार्यकारिणी सदस्य डा. सुबोध गुप्ता लगायतको उपस्थिती रहेको थियो ।