अजित कुमार भुजेल , बिरगंज । पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको छ ।
‘स्थानीय स्रोतको उपयोग, सहयोग र स्वामित्व पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ पर्सा लाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समितिद्वारा विहिबार आयोजित एक समारोहमा जिल्ला लाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।
मधेस प्रदेशका चार जिल्ला पर्सा, रौतहट, महोत्तरी र धनुषा पूर्ण खोप जिल्ला घोषणा गर्न बाकी रहेकोमा अहिले पर्सा जिल्लालाइ पूर्ण खोप जिल्ला घोषित भएको छ ।
पर्सा जिल्लामा खोप सम्बन्धि भइरहेको कार्यहरुबारे जानकारी गराउदै खोप समन्वय समितीका प्रमुख डा. मुक्ती नारायण साहले लामो प्रयास पछि पर्सा जिल्लालाई पुर्ण खोप जिल्ला घोषणा गर्न सकेकोमा सबैलाई धन्यवाद दिएका थिए।
यसैगरी अहिले पनि नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणले २०२२ अनुसार चार प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित जनाएको छ ।
त्यस्तै पर्सा जिल्ला खोप समन्वय समितीका प्रवक्ता जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले कोरोना महामारीका कारण पर्सा जिल्लाको चार पालिका बालबालिकालाइ खोप लगाउन सकेका थिएनन् तर अहिले चारै पालिकाले पुर्ण खोप पालिका हुन सफल भएकोमा उहाहरुलाई बधाइ समेत दिएका थिए ।
पूर्ण खोप नलगाएसम्म बालबालिका सुरक्षित ह्ँदैनन्,’ उनले भने, ‘विभिन्न रोगबाट बचाउनका लागि बालबालिकालाई सरकारले दिने निःशुल्क खोप लगाउनुपर्दछ।
अहिके नेपाल सरकारले नौ रोगका लागि १३ प्रकारका खोप बालबालिकालाई निःशुल्क उपलब्ध गराउने गर्दछ।
सरकारले खोप लगाउन छुटेका बालबालिकालाई प्रत्येक वर्ष वैशाख महिनामा खोप महिनाका रुपमा मनाउँदै आएको छ। उक्त समयमा देशभरि नै खोज र खोप अभियान सञ्चालन गरी नियमित खोप छुट भएका बालबालिकालाई छुट खोप दिइँदै आएको छ। गत वैशाखमा पाँच वर्षमुनिका ४० हजार चार सय ६३ बालबालिकालाई छुटेको खोप दिन सफल भएको छ।
सरकारले पूर्ण खोपका सुनिश्चिताका लागि तथा दादुरा–रुबेलाको सङ्क्रमणलाई ध्यानमा राखेर दादुरा–रुबेला खोपसँगै हेपाटाइटिस बी, धनुष्टङ्कार, इन्फ्लुयन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरुद्ध खोप समेत सञ्चालन गरेको छ।
आज भएको पर्सा जिल्ला पुर्ण खोप कार्यक्रम पर्सा जिल्ला समन्वय समितीका अध्यक्ष अजय सोनारको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रुपमा मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव प्रमोद यादव , विशिस्ट अतिथिका रुपमा खोप समन्वय समिती पर्साका सह संयोजक पुरण कुर्मी , जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख दिनेश सागर भुषाल , पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक , पोखरिया नगरपालिकाका मेयर प्रधुमन चौहान,गैर सरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह, बिरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई ,जिल्ला खोप समन्वय समितिका सदस्य जसपाल सिंह,मधेस प्रदेश स्वास्थ्य निर्देशानालयका निर्देशक राजिव झा ,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका सइ गुननिधी खकुरेल लगायत पर्सा जिल्लाका पालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण निलिमा पौडेलले गरेका थिए भने जिएचपि स्कुल र साउथ जोन स्कुलका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।