पर्सा पोस्ट , असार ०३ गते , वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवालको सरुवा भएको अवसरमा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगरले “फेरि भेटौँला” सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ।

ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा जनचेतनामूलक अभियानमा प्रनिइ कटुवालले पुर्याएको योगदानको उच्च प्रशंसा गरिएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष खेतानले कटुवालको कार्यकालमा वीरगञ्जको ट्राफिक अनुशासनमा उल्लेखनीय सुधार आएको बताए। उनले विद्यालयस्तरमा ट्राफिक शिक्षा अभियान सञ्चालन, जेब्रा क्रस तथा ट्राफिक सङ्केतको व्यवस्थापन सुधार, सडक दुर्घटना न्यूनीकरण तथा समुदायसँग सहकार्य गरेर ट्राफिक सचेतना फैलाउने कार्य प्रशंसनीय रहेको उल्लेख गरे।
“प्रहरी निरीक्षक कटुवालको नेतृत्वमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनेको छ। उहाँले समुदाय र प्रहरीबीच समन्वय कायम गर्दै नागरिकमैत्री सेवा प्रवाह गर्नुभएको छ,” अध्यक्ष खेतानले भने।

कार्यक्रममा सामुदायिक प्रहरीका पदाधिकारी, स्थानीय समाजसेवी, व्यवसायी तथा ट्राफिक प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले प्रनि कटुवाललाई खादा, दोसल्ला र सम्मानपत्र प्रदान गर्दै सफल कार्यकालको प्रशंसा गरेका थिए।
सम्मान ग्रहणपछि मन्तव्य व्यक्त गर्दै प्रनि कटुवालले आफ्नो कार्यकालमा प्राप्त सहयोग, सद्भाव र विश्वासप्रति धन्यवाद व्यक्त गरे। उनले ट्राफिक व्यवस्थापनमा सामुदायिक प्रहरी, स्थानीयवासी र सञ्चारमाध्यमको सहयोग महत्वपूर्ण रहेको बताए।
“समुदायको साथ र नागरिकको अनुशासनबिना प्रभावकारी ट्राफिक व्यवस्थापन सम्भव हुँदैन। वीरगञ्जवासीको सहयोगकै कारण सकारात्मक परिवर्तन सम्भव भएको हो,” उनले भने।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले उनको आगामी जिम्मेवारी सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै सम्मानपूर्वक बिदाइ गरेका थिए।