पर्सा पोस्ट , असार ०३ गते , वीरगञ्ज ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा ट्राफिक सप्ताहको सभ्य तथा भव्य शुभारम्भ गरिएको छ। सडक अनुशासन, सभ्यता तथा सुरक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रमअन्तर्गत जनचेतनामूलक र्याली समेत सम्पन्न गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर थापाले रिबन काटेर ट्राफिक सप्ताह अन्तर्गत आयोजित सचेतनामूलक र्यालीको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले “जान नै जहान हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै सबै सवारी चालक तथा नागरिकले ट्राफिक नियमको पूर्ण पालना गरे सडक दुर्घटनामा उल्लेखनीय कमी ल्याउन सकिने बताउनुभयो। उहाँले ट्राफिक अनुशासनलाई व्यक्तिगत जिम्मेवारीसँग जोडेर हेर्नुपर्ने उल्लेख गर्दै सुरक्षित यात्राको संस्कृतिलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ट्राफिक प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, विभिन्न संघ–संस्थाका प्रतिनिधि, विद्यार्थी, अग्रज महिला, युवा तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वीरगञ्जका विभिन्न मुख्य सडक परिक्रमा गरिएको र्यालीमा “सुरक्षित स्थानबाट मात्र ओभरटेक गरौँ”, “ट्राफिक नियमको पालना गरौँ”, “जिम्मेवार चालक बनौँ”, “हेल्मेट प्रयोग गरौँ” तथा “मादक पदार्थ सेवन गरेर सवारी नचलाऔँ” लगायतका सन्देश अंकित प्लेकार्ड प्रदर्शन गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक कटुवालले मानव जीवनभन्दा मूल्यवान् कुनै पनि वस्तु नरहेको उल्लेख गर्दै सवारी साधन सञ्चालन गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले ट्राफिक सप्ताह अवधिभर विद्यालयस्तरीय सचेतना कार्यक्रम, चालक तथा सहचालक अभिमुखीकरण, माइकिङ, चेकजाँच अभियान तथा सार्वजनिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। साथै उहाँले ट्राफिक सप्ताहलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी तथा सरोकारवाला निकायप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रमको समापन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक हरि बस्नेतले धन्यवाद ज्ञापनसहित गर्नुभएको थियो। समापन मन्तव्यमा उहाँले “अनुशासन, सभ्यता र सुरक्षा” यी तीन मूल मन्त्रलाई नागरिकले व्यवहारमा उतारेमा सडक दुर्घटनाको संख्या करिब ९५ प्रतिशतसम्म न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। उहाँले ट्राफिक नियमको पालना गर्नु केवल कानुनी दायित्व मात्र नभई सामाजिक उत्तरदायित्वसमेत भएको बताउँदै सबैलाई सुरक्षित यात्राको संस्कृतिलाई आत्मसात गर्न आग्रह गर्नुभयो।
ट्राफिक सप्ताहमार्फत पर्सा जिल्लामा सडक सुरक्षाप्रति जनचेतना अभिवृद्धि गर्दै दुर्घटना न्यूनीकरण गर्ने लक्ष्य लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ। कार्यक्रमले नागरिकमा ट्राफिक सचेतना बढाउन सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।