पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगंज ।
बिरगंज जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दोस्रो दिन आज एकदिने “प्रभावकारी सार्वजनिक वक्तृत्वकला (Effective Public Speaking)” तालिम सम्पन्न भएको छ। उक्त तालिम वीरगंजस्थित ब्राइट प्लस टु क्याम्पसमा आयोजना गरिएको थियो।
वीरगंज जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी रविन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगंज जेसीजका पूर्व अध्यक्ष तथा वर्ष २०२६ का अध्यक्ष सल्लाहकार जेसीआई सिनेटर निशान्त कुमार लामिछाने उपस्थित रहनुभएको थियो। उहाँले युवाहरूमा नेतृत्व विकास तथा आत्मविश्वास अभिवृद्धिका लागि यस्ता तालिमहरू अत्यन्त महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख प्रशिक्षक वीरगंज जेसीजका पूर्व अध्यक्ष जेसीआई सिनेटर डा. अरविन्द श्रेष्ठले सहभागी विद्यार्थीहरूलाई प्रभावकारी रूपमा प्रशिक्षण प्रदान गर्नुभयो। उहाँले सार्वजनिक वक्तृत्वकलाका विविध पक्षहरू, प्रस्तुतीकरण सीप, आत्मविश्वास वृद्धि तथा सञ्चारकला सम्बन्धी व्यवहारिक ज्ञान साझा गर्नुभयो।
तालिम कार्यक्रममा वीरगंज जेसीजका पूर्व अध्यक्ष तथा वर्ष २०२६ का अध्यक्ष सल्लाहकारहरू जेसीआई सिनेटर गणेशमान श्रेष्ठ, जेसीआई सिनेटर सन्तोष खनाल, जेसी मुकेश सिंह लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको संयोजन वीरगंज जेसीज वर्ष २०२६ का उपाध्यक्ष जेसी दीपक कुमार मेहताले गर्नुभएको थियो भने सञ्चालन कार्यकारिणी उपाध्यक्ष जेसी रोशन दास थारुले गर्नुभएको थियो।
तालिममा सहभागी विद्यार्थीहरूले कार्यक्रम अत्यन्त उपयोगी र प्रेरणादायी रहेको प्रतिक्रिया दिएका छन्। यस्ता कार्यक्रमहरूले युवाहरूको व्यक्तित्व विकासमा टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।