पर्सा पोस्ट, मंसिर २१ गते, बिरगंज ।
नेपाल–भारत सीमास्थित ऐतिहासिक तथा प्रतीकात्मक महत्व बोकेको मितेरीपुल क्षेत्रमा शुक्रबार बिहान संयुक्त रूपमा बृहत सरसफाइ अभियान सम्पन्न भएको छ। दैनिक हजारौँको आवागमन हुने यो पुललाई स्वच्छ, सुरक्षित र आकर्षक बनाउन विभिन्न संस्थाबीचको उल्लेखनीय सहकार्यमा अभियान अघि बढाइएको हो।
बिरगंज महानगरपालिकाको पहलमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, जिल्ला प्रहरी कार्यालय पर्सा, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर तथा भारतीय सुरक्षा बल (SSB) ४७ बटालियनको संयुक्त सहकार्यमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो।
यातायातको चाप, व्यापारिक आवागमन र पैदल यात्रुको भीड बढ्ने मितेरीपुल क्षेत्रमा लामो समयपछि यति ठूलो स्तरमा सरसफाइ अभियान सञ्चालन हुनुले दुवै देशका सुरक्षानिकाय तथा स्थानीय संस्थाबीचको समन्वय र मित्रतापूर्ण सम्बन्धलाई अझ प्रष्ट पारेको सहभागीहरूले बताए।
# पुर्खौली मितेरीपुललाई सुन्दर बनाउने लक्ष्य:
नेपाल–भारत मित्रताको ऐतिहासिक स्मारक मानिने मितेरीपुलमा अभियानका क्रममा थुप्रिएको फोहोर हटाइयो। झाडी तथा अव्यवस्थित सामग्री सफाइ गरियो, सडक तथा छेउछाउ क्षेत्र धुइने काम समेत गरिएको थियो। अभियानले सीमाक्षेत्रलाई स्वच्छ, सुरक्षित र सुव्यवस्थित बनाउन महत्वपूर्ण योगदान गरेको बताइयो।
# मायाको चिनो : रुखको बिरुवा हस्तान्तरण:
कार्यक्रमकै क्रममा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले सीमाक्षेत्रमा हरियाली तथा वातावरण संरक्षणको सन्देश दिन भारतीय सुरक्षा बल SSB ४७ बटालियनका प्रमुखलाई ठुलो गमला सहितको रुखको बिरुवा प्रदान गरे।
उनले सीमाक्षेत्र व्यवस्थित तथा हरियालीयुक्त बनाउन दुवै देशका निकायले निरन्तर सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए।