पर्सा पोस्ट, मंसिर २१ गते, वीरगंज ।
वीरगंज महानगरपालिकाद्वारा वडा नं. २ रेल्वे रोडस्थित छपकैयामा निर्माण गरिएको ‘छपकैया तरकारी तथा फलफूल थोक बजार’ आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। यससँगै वीरगंजमा दशकौँदेखि रहेको व्यवस्थित थोक तरकारी बजारको अभाव अन्त्य भएको महानगरले जनाएको छ।
थोक बजार शुभारम्भ समारोहमा बोल्दै वीरगंज महानगर प्रमुख राजेशमान सिंहले बजार छपकैयावासीको पहिचान र नाममा जोडिएको बताए। “यो बजार छपकैया वासीकै नाममा बनाइएको हो। सफा, सुरक्षित र व्यवस्थित राख्न स्थानीय समुदायको भूमिका महत्वपूर्ण छ,” उहाँले भन्नुभयो।
सिंहका अनुसार बजार निर्माण अढाई वर्षअघि सुरू गर्ने योजना भए पनि वीपी उद्यानमा रहेर व्यापार गर्दै आएका व्यवसायीका कारण ढिलाइ भएको थियो। वीपी उद्यानलाई हरित पार्कका रूपमा विकास गर्दै त्यहाँको अव्यवस्थित बजार हटाइने र व्यापारीलाई छपकैया बजारमा स्थानान्तरण गर्ने योजना रहेको उहाँले जानकारी दिए।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी भोला दाहालले व्यवस्थित थोक बजार सञ्चालनसँगै किसान र उपभोक्ता दुवै लाभान्वित हुने बताए। अव्यवस्थित बजारको अभावले किसानहरूलाई सडकछेउ वा अस्थायी ठाउँमा बिक्री गर्नुपर्ने बाध्यता अब समाप्त भएको उहाँको भनाइ थियो।
महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार बजारको पहिलो चरणमा ७० लाख रुपैयाँ लागतमा निर्माण गरिएको १४ युनिटभित्र २८ सटर सञ्चालनमा आएका छन्। बजार क्षेत्रमा बिजुली, पानी, शौचालय, ढल निकास र सुरक्षासहित सबै आधारभूत सुविधा उपलब्ध छन्। दोस्रो चरणमा थप ७० लाख रुपैयाँ लगानी गर्दै संरचना विस्तार गरिने कर्णले बताए।