पर्सा पोस्ट, मंसिर ०७ गते, बिरगंज ।
बीरगंज महानगरपालिका–१६ अन्तर्गत पर्ने रक्सौल–बीरगंज मितेरी पुल क्षेत्रको हरियाली र सौन्दर्यकरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले आज नगर प्रमुख मेयर राजेशमान सिंहले वृक्षारोपण गर्दै हरियाली तथा स्वच्छता अभियानको शुभारम्भ गर्नुभएको छ । हरियाली संरक्षण, पर्यावरणीय स्वच्छता तथा सीमाक्षेत्रको दीर्घकालीन सौन्दर्यकरणलाई लक्षित गर्दै सञ्चालन भइरहेको सफाइ तथा वृक्षारोपण अभियान आज २२औँ दिनमा प्रवेश गरेको छ। यो अभियान बीरगंज महानगरपालिका, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर्स पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर–१० को संयुक्त पहलमा निरन्तर सञ्चालित छ।
अभियानअन्तर्गत आज मेयर सिंहले १० देखि १५ फिट उचाइका बिरुवा रोपी कार्यक्रमलाई निरन्तरतासाथ अघि बढाउनुभएको हो। सीमाक्षेत्रमा तीव्र शहरीकरणका बीच वातावरणीय सन्तुलन कायम राख्ने, हरियाली संरक्षणलाई संस्थागत बनाउने तथा क्षेत्रको दीर्घकालीन सौन्दर्यकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सक्रिय रूपमा अघि बढिरहेको महानगरपालिकाले जनाएको छ।
२२ दिनदेखि दैनिक रूपमा भइरहेको सफाइ, वृक्षारोपण तथा जनचेतनामूलक गतिविधिमा स्थानीयवासी तथा सुरक्षाकर्मीको प्रशंसनीय सहभागिता रहँदै आएको छ। मेयर सिंहले यस्ता पहलहरूले बीरगंज–रक्सौल सीमाक्षेत्रलाई थप स्वच्छ, हरियालीयुक्त र व्यवस्थित शहरको नमूना बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।