पर्सा पोस्ट / मंसिर ०३ गते, बिरगंज। नेशनल मेडिकल कलेज, वीरगञ्जले सिप्ला फार्मास्युटिकल्सको सहकार्यमा आज बिहान १०:०० बजेदेखि प्रहरी कार्यालय, कन्फरेन्स हल, वीरगञ्जमा COPD स्क्रिनिङ तथा उपकरण प्रदर्शन कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिप राज पाठक, प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत, ट्राफिक प्रहरी निरीक्षकसहित अन्य प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा ट्राफिक प्रहरी तथा जनपथ प्रहरी गरी करिब १५० जना सहभागी भएका थिए।
उक्त कार्यक्रमको मुख्य उद्देश्य COPD को प्रारम्भिक पहिचान, जनचेतना अभिवृद्धि, तथा स्वास्थ्य परामर्श प्रदान गर्नु रहेको कलेजले जानकारी दिएको छ।
नेशनल मेडिकल कलेजतर्फबाट उपप्रधानाध्यापक डा. रविशंकर गुप्ता, छाती रोग विशेषज्ञ डा. आलोक कुमार सिंह, इन्जिनियर प्रदीप चौधरी, बजार व्यवस्थापक जितेश चन्द्र दास, वरिष्ठ प्रशासनिक अधिकृत बिश्वनाथ कन्थ, प्रशासन अधिकृत पप्पु सिंह, तथा छात्र क्लबका अध्यक्ष डा. प्रसान्त भण्डारी सहभागी रहेका थिए।
सिप्ला फार्मास्युटिकल्सतर्फबाट क्षेत्रीय प्रबन्धक भुपेन्द्र मल्लिकको उपस्थिति रहँदा कार्यक्रम अझ प्रभावकारी र सुव्यवस्थित बनेको आयोजकले उल्लेख गरेको छ। कार्यक्रमका लागि सिप्ला फार्मास्युटिकल्सले निःशुल्क औषधि, स्क्रिनिङ उपकरण प्रदर्शन, पर्चा तथा शैक्षिक सामग्री, ब्यानर, दृश्य सामग्री तथा प्रमाणपत्र उपलब्ध गराएको थियो।
कार्यक्रमको चिकित्सा नेतृत्व छाती रोग विशेषज्ञ डा. आलोक कुमार सिंहले गरेका थिए।
नेशनल मेडिकल कलेज र सिप्ला फार्मास्युटिकल्सको संयुक्त पहलमा सञ्चालन गरिएको यो कार्यक्रम COPD जस्तो दीर्घ श्वासप्रश्वास–सम्बन्धी रोगबारे जनचेतना बढाउन तथा जोखिम समूहमा रहेका व्यक्तिहरूलाई समयमै स्क्रिनिङ गर्न अत्यन्त उपयोगी भएको सहभागीहरूले बताएका छन्।