पर्सा पोस्ट, कार्तिक १७ गते, वीरगंज ।
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजको आदेश विपरीत महागढीमाई नगरपालिका–२, इनर्वामा रहेको एक घरमा बुलडोजर चलाइएको आरोप लागेको छ।
मामिला (निषेधाज्ञा नं. ०८२–w०–०१६८) अनुसार, माननीय न्यायाधीश श्री गोकर्ण डाँगी र माननीय न्यायाधीश श्री हरिराज कार्कीको इजलासले मिति २०८२ असोज २६ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै महागढीमाई नगरपालिकालाई रामएकवाल प्रसादको नाममा दर्ता कि.नं. ९ र ११ को जग्गा तथा सोमा निर्मित घरमा कुनै प्रकारको असर पार्ने कार्य नगर्नु/नगराउनु भनी आदेश दिएको थियो।
तर, अदालतको आदेशको अवज्ञा गर्दै मिति २०८२ कार्तिक १६ गते आइतबारका दिन महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवको निर्देशनमा नगर प्रहरीको टोली आएर रामएकवाल प्रसादको घरमा रहेका सामान बाहिर फाल्दै बुलडोजर प्रयोग गरी घर भत्काएको पीडित परिवारको आरोप छ।
पीडितका छोरा सिकन्द्र प्रसाद पटेलका अनुसार, “हामीले अदालतको आदेश पनि देखायौं, तर नगरपालिकाका कर्मचारी र नगर प्रहरीले केही नमान्दै गुंडा शैलीमा घर भत्काए। यो नाङ्गो शक्ति प्रदर्शन र कानूनको खुल्ला उल्लङ्घन हो,” उनले भने। उक्त घटनाबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति पुगेको दाबी गरिएको छ। अदालतले विवाद समाधान नहुँदासम्म कुनै पनि निर्माण वा तोडफोड कार्य नगर्न आदेश दिएको भए पनि नगरपालिकाले त्यसको अवज्ञा गरेको भन्दै पीडित पक्षले सम्बन्धित निकायसँग क्षतिपूर्ति माग गरेका छन्।
यस विषयमा महागढीमाई नगरपालिकाको तर्फबाट भने आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।