पर्सा पोस्ट, कार्तिक १६ गते, वीरगंज ।
ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगरले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालको बिदाई तथा नयाँ आएका डीएसपी राजु कार्कीको स्वागत कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम वीरगंज–१०, आदर्शनगरस्थित ग्रीनसिटी सामुदायिक प्रहरी कार्यालयमा सम्पन्न भएको हो। उक्त कार्यक्रममा ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले अध्यक्षता गर्नुभएको थियो।
सो अवसरमा उपस्थित पदाधिकारी, आजीवन सदस्य र स्थानीय समुदायका प्रतिनिधिहरूले मायाको चिनो, खादा र मालासहित डीएसपी लम्साललाई सम्मानपूर्वक बिदाई गरे। कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटी वीरगंजका अध्यक्ष कमल चौलागाईं, सञ्चारकर्मीहरू र विभिन्न सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रहरी प्रधान कार्यालय, नक्सालले हालै डीएसपी किशोर लम्साललाई इलाका प्रहरी कार्यालय दमक, झापाको प्रमुखको जिम्मेवारीसहित सरुवा गरेको हो। लम्सालले निकट भविष्यमै दमक पुगेर नयाँ पदभार ग्रहण गर्ने तयारी गरेको बताइएको छ।
पर्सामा कार्यरत रहँदा उनले उत्कृष्ट नेतृत्व, अनुशासन र निडरताका साथ कार्य गर्दै एक इमानदार, कर्मठ र लोकप्रिय प्रहरी अधिकृतका रूपमा पहिचान बनाएका थिए। उनको कार्यकालमा सुरक्षा संयोजन, अपराध नियन्त्रण र समुदाय–प्रहरी साझेदारीमा उल्लेखनीय सुधार आएको सहकर्मीहरूले बताएका छन्।
बिदाई कार्यक्रममा बोल्दै डीएसपी लम्सालले भने, “सेवा र जिम्मेवारी नै प्रहरीको पहिचान हो। प्रहरी सेवालाई मैले आफ्नो जीवनको अभिन्न अंश ठानेको छु। कानुन कार्यान्वयन गर्ने निकायको सक्रियता र तदारुकताले नै समाजमा पीडितमैत्री वातावरण निर्माण गर्न सकिन्छ। पीडक खुलेआम नहुन र पीडितले न्याय पाउन सकोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो।”
उनका अनुसार, प्रहरी संगठन सेवा, निष्ठा र उत्तरदायित्वमा आधारित हुनुपर्छ, र यही सिद्धान्तका साथ आफूले काम गरेको बताए।
सहकर्मीहरूका अनुसार डीएसपी लम्साल एक शालीन, भद्र र व्यवहारिक नेतृत्व हुन्, जसले संगठनमा अनुशासन र पारदर्शिता कायम गर्न सधैं अग्रसर रहँदै आएका छन्। अपराध अनुसन्धानमा उनको दक्षता, विवेकशील निर्णय क्षमता र संगठनप्रतिको निष्ठाले उनलाई एक आदर्श प्रहरी अधिकृतका रूपमा चिनाएको छ।
पर्साबाट उनको सरुवासँगै जिल्ला प्रहरी कार्यालयमा उनको कमी महसुस हुने बताइँदैछ। यद्यपि सहकर्मीहरू र समुदायका प्रतिनिधिहरूले विश्वास व्यक्त गरेका छन् कि दमकमा पनि उनले आफ्नो दक्षता, निष्ठा र सेवा–भावको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नेछन्।