पर्सा पोस्ट, कार्तिक १६ गते, वीरगंज । लोकप्रिय चाउचाउ ब्रान्ड वाइ वाइ ले सञ्चालन गरेको “मालामाल वीक्ली” अफरमार्फत कम्पनीले उपहारको लालच देखाई ग्राहकलाई झुक्याएको आरोप लागेको छ।
ग्राहकहरूले बताएको अनुसार, चाउचाउको प्याकेटभित्र राखिएको कुपनमार्फत १ हजारदेखि १ लाख रुपैयाँसम्मको नगद पुरस्कार पाउने व्यवस्था गरिएको विज्ञापन भए पनि, सो कुपनमा उल्लेखित सम्पर्क नम्बरमा पटक–पटक फोन गर्दा पनि नउठाउने वा लाग्ने नगरेको गुनासो सार्वजनिक भएको छ।
कुपन पाएका ग्राहकहरूले कम्पनीमाथि “पुरस्कार वितरणको नाममा ठगीजस्तो कार्य गर्दै ग्राहकको विश्वासमा आघात पुर्याएको” आरोप लगाएका छन्। धेरैले “वाइ वाइ मालामाल” स्किमलाई वास्तविक उपहार योजना भन्दा पनि प्रचारका लागि बनाइएको लोभ देखाउने माध्यमको रूपमा लिएका छन्।
कम्पनीको कुपनमा उल्लेखित सर्तअनुसार, “कम्पनीको आधिकारिक हस्ताक्षर र छाप भएको कुपन मात्र मान्य हुने” र “नेपाल सरकारको नियमअनुसार कर कट्टी गरिने” भनिएको छ। साथै, “उपहारसम्बन्धी सम्पूर्ण निर्णय कम्पनीमा निहित हुनेछ” भन्ने उल्लेख पनि छ।
तर, पुरस्कार दाबीका लागि दिइएको सम्पर्क नम्बर ९८५१२२८६७१ मा सम्पर्क हुन नसक्दा ग्राहकहरू निराश बनेका छन्। ग्राहकहरूले सम्बन्धित निकायसँग भ्रामक र पारदर्शिताविहीन योजनामाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन्।