पर्सा पोस्ट, असोज ३१ गते, सिमरा । उपभोक्ता हित संरक्षण मञ्च , नेपालको उजुरीको आधारमा इलाका प्रशासन कार्यालय सिमराको नेतृत्वमा शुक्रबार सयुक्त बजार अनुगमन टोलीले जीतपुर बजारका मिठाई तथा फलफूल पसलहरूमा अनुगमन गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंज, वाणिज्य कार्यालय, जीतपुर सिमरा उपमहानगरपालिका, जीतपुर सिमरा उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय जीतपुर र उपभोक्ता हित संरक्षण मञ्च नेपालका प्रतिनिधिहरू सम्मिलित टोलीले गरिएको अनुगमनका क्रममा बुनिया लड्डु , भारतीय मिल्क केक , अत्यधिक रङ्ग हालेको बुनिया दाना गरेर अन्दाजी २०० केजि जितपुरको जैसवाल स्विट्स र न्यु जगदम्बा स्विट्सबाट करिब रु. ४५,००० मूल्य बराबरको अत्यधिक मात्रामा रंग मिसाइएको मिठाईजन्य खाद्य पदार्थ जफत गरी नष्ट गरिएको उपभोक्ता हित संरक्षण मञ्च , नेपालका केन्द्रिय उपाध्यक्ष अजय अधिकारीले जानकारी दिनुभयो।

गुणस्तरहिन अनुगमनका क्रममा मिठाई तथा फलफूल पसलहरूमा स्वच्छता र गुणस्तरमा बेथिति फेला परेका कारण व्यवसायीलाई आवश्यक सुधार गर्न निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ ।

टोलिले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बजारमा बिक्री हुने खाद्य वस्तुहरूको गुणस्तरमा निरन्तर निगरानी राख्ने प्रतिबद्धता जनाएको छ ।

त्यसैगरि एसअघिपनि सिमरामा उपभोक्ता हित संरक्षण मञ्च , नेपालको उजुरीको आधारमा अखाद्य , गुणस्तरहिन मिठाई बिक्रि बितरण गरेको र सरसफाइमा समेत ध्यान नदिएकोले अनुगमन टोलिले सामान जफत गरि जरिवाना समेत गरेको मञ्चका उपाध्यक्ष अधिकारीले बताए ।