पर्सा पोस्ट, असोज ६ गते, बिरगंज। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले पर्साका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रालाई एक विशेष समारोहबीच सम्मानपूर्वक विदाई गरेको छ।
पर्सामा कार्यरत रहँदा सामाजिक उत्तरदायित्व र सुरक्षा व्यवस्थामा पुर्याएको उल्लेखनीय योगदानप्रति कृतज्ञता व्यक्त गर्दै कलेज प्रशासनले मिश्राको सम्मानमा विदाई कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रम कलेजका अध्यक्ष प्रोफेसर डा. जैनुद्दिन अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारी, अस्पताल निर्देशक डा. इसरत जहाँ अन्सारी, एकेडेमी डाइरेक्टर डा. रुबी श्रेष्ठ यास्मिन, एडमिसन तथा मार्केटिङ निर्देशक आबिद हुसेन अन्सारी, नेशनल मेडिकल कलेजका प्रधानाध्यापक प्रोफेसर डा. के.एन. सिंह, प्रधानाध्यापक डा. रविशंकर गुप्तालगायत पर्सेली सञ्चारकर्मीहरूको समेत उपस्थिति थियो।
वक्ताहरूले एसपी मिश्राको कार्यकाललाई स्मरणीय बताउँदै वीरगञ्जमा शान्ति र सुरक्षा कायम गर्न उनले खेलेको सक्रिय भूमिकाको प्रशंसा गरेका थिए।
समापनमा प्रहरी उपरीक्षक मिश्राले नेशनल मेडिकल कलेज परिवारप्रति आभार व्यक्त गर्दै सामाजिक संस्थाहरूको सहयोगले प्रहरी प्रशासनको कार्य अझ प्रभावकारी र सहज हुने विश्वास व्यक्त गरे।