पर्सा पोस्ट, भदौ १२ गते, वीरगंज । वीरगंज महानगरपालिकाले आफ्नै प्रयोगशालाबाट गरेको संक्रमित स्थलको पानी परीक्षणमा झाडापखाला तथा हैजा फैलाउने जीवाणु नदेखिएको पुष्टि भएको छ।
महानगरले हैजा प्रभावित वडा नं. १०, ११ र १२ का सात स्थानका धाराबाट संकलन गरिएको पानी नमूनाको प्रतिवेदन ‘नेगेटिभ’ आएको जनाएको हो। तीमध्ये तीनवटा बोरिङ र चारवटा खानेपानी संस्थानका धाराबाट नमूना संकलन गरिएको थियो।

यसअघि मधेस प्रदेश प्रयोगशालामा पठाइएका १० वटा नमूनामा पनि जीवाणु फेला नपरेको पुष्टि भइसकेको छ। हाल वडा नं. १ छपकैयास्थित खानेपानी प्रशोधन केन्द्रमै स्थापना गरिएको आधुनिक प्रयोगशालाबाट परीक्षण भइरहेको छ।
माइक्रोबायोलोजिष्ट अजय मण्डलको प्राविधिक नेतृत्वमा भइरहेको परीक्षणमा हाल इ.कोलीको मात्र परीक्षण गरिएको हो भने युनिसेफको सहयोगमा कोलीफर्म परीक्षण पनि सुरु भएको छ। यसको प्रतिवेदन शुक्रबारसम्म आउने जनाइएको छ।
महानगरको वातावरण निरीक्षक प्रकाश ऐरसहितको टोलीले संकास्पद क्षेत्रमा पुगेर नियमित रूपमा नमूना संकलन गर्दै परीक्षणलाई तीव्रता दिएको छ।
महानगर प्रमुख राजेशमान सिंहले सुरक्षित खानेपानी नै हालको मुख्य आवश्यकता भएको उल्लेख गर्दै “संक्रमण नियन्त्रणलाई पहिलो प्राथमिकता दिइएको छ,” भन्नुभयो। उहाँका अनुसार अत्यधिक प्रभावित क्षेत्रमा प्रयोग हुने धारालाई प्राथमिकता दिँदै परीक्षण भइरहेको छ भने आवश्यकता अनुसार अन्य संकास्पद स्थानको समेत नमूना संकलन गरिनेछ।