पर्सा पोस्ट, भदौ १० गते, जनकपुरधाम । शिक्षा विधेयक संशोधनको माग गर्दै मधेश प्रदेशभरका निजी विद्यालय सञ्चालकहरूले आज पुनः विरोध प्रदर्शन गरेका छन्। प्याब्सन (PABSON), एन–प्याब्सन (NPABSON) तथा हिसान (HISSAN) अन्तर्गतका निजी विद्यालय सञ्चालकहरू राजधानी जनकपुरधाम स्थित प्रदेश सभा अगाडि भेला भई नाराबाजी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्याब्सन मधेश प्रदेशका अध्यक्ष गणेश साहको नेतृत्वमा आठ वटै जिल्लाबाट पुगेका विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकले निजी विद्यालयहरूको अस्तित्व नै संकटमा पार्ने भन्दै तत्काल परिमार्जन गर्नुपर्ने माग दोहोर्याएका थिए।
पर्साबाट ठूलो सहभागिता
प्रदर्शनमा पर्सा जिल्लाबाट समेत ठूलो संख्यामा विद्यालय सञ्चालकहरू सहभागी भएका थिए। प्याब्सन पर्साका जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी, एन–प्याब्सनका सल्लाहकार प्रेम यादव र हिसानका जिल्ला अध्यक्ष मुकेश गुप्ताको नेतृत्वमा विद्यालय सञ्चालकहरूको टोली जनकपुरधाम पुगेको थियो।
त्यस्तै, प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पुरन प्रधान, सल्लाहकार इमामुद्दिन अहमद, प्याब्सनका पूर्व वरिष्ठ उपाध्यक्ष श्याम केसी, संस्थापक सदस्यद्वय लालबाबु पटेल, एन–प्याब्सन बीरगन्जका अध्यक्ष जियालाल गुप्ता, सचिव शेख अजहर लगायतको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
विधेयक खारेज वा परिमार्जनको माग
आन्दोलनकारी निजी विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकमा रहेका केही प्रावधानले निजी विद्यालयहरूलाई ठप्प पार्ने खतरा रहेको भन्दै ती प्रावधान खारेज वा परिमार्जन गर्नुपर्ने माग गरेका छन्। उनीहरूले विद्यालयहरूको दिगोपन, शिक्षक–कर्मचारीको हक अधिकार, पाठ्यक्रम व्यवस्थापन र शैक्षिक गुणस्तरलाई ध्यानमा राखी विधेयक पुनर्लेखन गर्नुपर्ने चेतावनी दिएका छन्।
आन्दोलन अझ तीव्र बनाउने चेतावनी
निजी विद्यालय सञ्चालकहरूले यसअघि पनि जिल्ला प्रशासन, प्रदेश सरकार र संघीय राजधानीमा श्रृंखलाबद्ध रूपमा विरोध प्रदर्शन गर्दै आएका छन्। शिक्षा विधेयकमा मागअनुसार संशोधन नभएसम्म आन्दोलनलाई थप तीव्र बनाइने उनीहरूको चेतावनी छ।