पर्सा पोस्ट, भदौ ०६ गते, वीरगंज । सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे छलफल गर्न प्रदेशस्तरीय समन्वय बैठक शुक्रबार वीरगंजस्थित मकालु होटलमा सम्पन्न भएको छ।

कार्यक्रम उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य धिरज शर्माको अध्यक्षता तथा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

बैठकमा प्रोजेक्टरमार्फत सहकारी क्षेत्रका चुनौती, उपभोक्ताका अधिकार तथा सम्भावित समाधान प्रस्तुत गर्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सचिव जयप्रसाद पौडेलले सरोकारवालाबीच समन्वय र साझा पहल आवश्यक रहेको बताए।

मेयर राजेशमान सिंहले सहकारीलाई “जनताको आर्थिक मेरुदण्ड”को संज्ञा दिँदै यस क्षेत्रको विश्वसनीयता जोगाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए। उनले भने, “सहकारी बचतकर्ताको पसिनाको कमाइ हो, यसको संरक्षण र पारदर्शिता कायम गर्न सरकार, सञ्चालक र उपभोक्ता सबै मिलेर अघि बढ्न जरुरी छ।”

सिंहले पत्रकारलाई पनि सहकारीका ऋण प्रवाह, लगानी, धितो मूल्यांकन लगायत विषयमा गहिरो खोजमूलक पत्रकारिता गर्न आग्रह गरे।
बैठकमा विभिन्न सरोकारवालाले आफ्ना धारणा राखेका थिए।
# नेपाल बार एशोसिएसन वीरगंजका अध्यक्ष रामनारायण कुर्मीले सहकारीलाई लगानीभन्दा असुलीमुखी बनाउन खोज्दा जनविश्वास कमजोर भएको बताए। उनले उपभोक्ता अदालतमार्फत कडा कानुनी कदम आवश्यक रहेको उल्लेख गरे।
# पर्सा जिल्ला सहकारी संघका अध्यक्ष हरेन्द्र सिंहले नियमित अनुगमन नगर्दा बचतकर्ताको पैसा डुब्ने अवस्था आएको भन्दै यसलाई “ठूलो घोटाला”को संज्ञा दिए।
# जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरेराम पटेलले सहकारीमा बचत वा ऋण लगानी गर्नु अघि सञ्चालक समिति, कार्यक्षेत्र, धितो मूल्यांकनजस्ता आधारभूत कुरामा ध्यान दिन सदस्यलाई सचेत गराए।

त्यस्तै, सहकारी पीडित संघर्ष समितिका अध्यक्ष सुशिल अग्रवाल, सदस्यहरू सजीव शर्मा र विनोद गुप्ताले पीडित पक्षका पीडा तथा समस्या बैठकमा उजागर गरेका थिए।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका अध्यक्ष सुनिल श्रेष्ठ, सचिव विशाल झा, कोषाध्यक्ष रचेन्द्र थापा, सदस्य प्रकाश कुमार शाह, मनोज कुमार गुप्ता, रोशनी श्रेष्ठ , लक्ष्मी खड्का, गजेन्द्र महतो, सुनिल महतो सहकारी पीडित तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।

बैठकको सञ्चालन उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका उपाध्यक्ष एवं सञ्चारकर्मी अजित भुजेलले गर्नुभएको थियो।