पर्सा पोस्ट, साउन २८ गते, बिरगंज । मदरल्यान्ड स्कुलमा आज विशेष समारोहका बीच कक्षा मनिटर, हेड ब्वाज र हेड गर्लको ब्याच वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं, विशिष्ट अतिथि नेशनल प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष सोनालाल पटेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश विभाग प्रमुख रामसुन्दर आर्या, गुनासो तथा व्यवस्थापन विभाग प्रदेश प्रमुख नरेन्द्र कुमार यादव, समाजसेवी कन्हैया केशरी लगायतका व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।

मदरल्यान्ड स्कुलका संस्थापक एवं नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष नन्दन यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रहरी प्रमुख चौलागाईंले विद्यार्थी जीवनमा नेतृत्व र जिम्मेवारीको अभ्यास अपरिहार्य भएको बताउँदै अनुशासन, इमानदारी र परिश्रमका माध्यमबाट उदाहरणीय नेतृत्व प्रस्तुत गर्न विद्यार्थीहरूलाई आग्रह गरे।

उनले भने, “कक्षा मनिटर, हेड ब्वाज र हेड गर्लको भूमिका केवल एक पद मात्र होइन, यो जिम्मेवारी र विश्वासको प्रतीक हो। यस अवसरलाई सदुपयोग गर्दै विद्यालयको गौरव र अनुशासनको पहिचान बन्नुहोस्।” साथै, विद्यार्थी जीवनमै नेतृत्व क्षमता विकासका अवसरहरूले भविष्यमा उनीहरूलाई सक्षम नागरिक बन्न मद्दत गर्ने समेत बताए।
कार्यक्रममा विभिन्न पदमा चयन भएका विद्यार्थीहरूलाई ब्याच वितरण गरिएको थियो। कार्यक्रममा विद्यालयका शिक्षक,
कर्मचारी, विद्यार्थी , अभिभावक तथा स्थानीय सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।