
पर्सा पोस्ट , समाचार , साउन २७ गते । नेपाल पत्रकार महासंघ मधेस प्रदेशले कार्यालय भवन निर्माणका लागि लिजमा लिएको धनुषा, जनकपुरधाम उपमहानगरपालिकास्थित श्रीराम मन्दिर गुठीको जग्गा कब्जा गर्ने उद्देश्यले कानुन व्यवसायीहरूको समूहले पत्रकारमाथि गरेको आक्रमणप्रति प्रेस सेन्टर नेपाल जिल्ला कार्य समिति, पर्सा शाखाले तीव्र आपत्ति प्रकट गरेको छ।

संघका प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर साह, बिनिता यादव लगायतमाथि भएको आक्रमणलाई प्रेस सेन्टर नेपाल पर्साले अत्यन्त निन्दनीय र आपत्तिजनक भनेको छ।
संस्थाले घटनामा संलग्न सम्पूर्ण आक्रमणकारीलाई छानबिन गरी कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

घटना साउन २७ गते मंगलबारको हो। नेपाल पत्रकार महासंघका पदाधिकारी तथा पत्रकारहरूले जग्गा संरक्षणका लागि तारबार लगाइरहेका बेला नेपाल बार एसोसिएसन धनुषाका जिल्ला अध्यक्ष बिमल मिश्रको नेतृत्वमा आएको समूहले पत्रकारमाथि आक्रमण गरी घाइते बनाएको हो।
प्रेस सेन्टर नेपाल पर्साले नेपाल बार एसोसिएसन धनुषाले गरेको जग्गा कब्जा प्रयासलाई गैरकानुनी करार गर्दै, सोको प्रतिकारमा भएको पत्रकारमाथिको आक्रमणलाई प्रेस स्वतन्त्रतामाथिको खुला धक्का भनेको छ।
घाइते पत्रकारहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, संस्थाले दोषीलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेको छ।